काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
विश्वविद्यालयको ४३औँ सभाले बजेट तथा नीति–कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । बजेटमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सुरक्षा र चिकित्सा शिक्षालाई प्राथमिकता दिइएको छ ।
विश्वविद्यालयले बदलिँदो प्रविधि र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ आवश्यकताअनुसार विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ ।
प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई डिजिटल प्रणालीमा जोडेर सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउने नीति पनि बजेटमा समेटिएको छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृशिशु अस्पताल आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने कार्यक्रम अघि बढाइएको छ ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने योजना पनि बजेटमा समेटेको छ ।
