झापा । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश समितिको निर्णयअनुसार झापाको मेचीनगर नगरपालिकामा सञ्चालन गरेको एकमहिने ‘संगठन पुनर्जागरण अभियान’ लाई तीव्र बनाएको छ। अभियानअन्तर्गत नगरका १५ वटै वडामा संगठनात्मक गतिविधि विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने र स्थानीय नेता–कार्यकर्तासँग छलफल गरी आगामी कार्ययोजना निर्माण गर्ने काम अघि बढाइएको पार्टीका केन्द्रिय सदस्य तथा मेचीनगर नगरपालिकाका सम्वन्वयकर्ता बासु दुलालले बताए ।
पार्टीले कोशी प्रदेश समितिको परिपत्रअनुसार मेचीनगर नगर समिति तथा निर्वाचन क्षेत्रीय समितिअन्तर्गतका जिम्मेवार नेताहरूबीच छलफल गर्दै अभियान सुरु गरिएको हो। अभियानमा वडा तहमा संगठन विस्तारसँगै सहिद, घाइते तथा बेपत्ता परिवारसँग भेटघाट, पार्टीबाट बाहिरिएका वा निष्क्रिय रहेका कार्यकर्तालाई पुनः जोड्ने ‘घर फर्क’ अभियान, वामपन्थी तथा देशभक्त विचार राख्ने समूह र व्यक्तिसँग संवाद तथा अग्रज नेताहरूसँग परामर्श गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका केन्द्रिय सदस्य तथा मेचीनगर नगरपालिकाका सम्वन्वयकर्ता बासु दुलालले बताए ।
परिपत्रमा सदस्यता नवीकरण तथा वितरणसँगै वडा एकता बैठक सञ्चालन गर्ने, पूर्व जनमुक्ति सेनाका सदस्यहरूसँग भेटघाट गर्ने र विभिन्न कारणले पार्टीको जिम्मेवारीबाट बाहिरिएका कार्यकर्ताको जिम्मेवारी पुनः व्यवस्थापन गर्ने विषयसमेत उल्लेख छ। अभियानको अवधि २०८३ असोज ३० गतेसम्म तोकिएको छ।
अभियानको चौथो दिन सोमबार बिहान मेचीनगर–६ मा वडा तहका जिम्मेवार नेता–कार्यकर्तासँग छलफल गरिएको थियो। केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहसंयोजक बीपी भट्टराई, प्रदेश कमिटी सदस्य तथा मेचीनगर इन्चार्ज राजु दाहाल, निर्वाचन क्षेत्र नम्बर १ का संयोजक इन्दिरा कार्की, मेचीनगर पार्टी संयोजक खगेन्द्र सिग्देल, प्रदेश कमिटी सदस्य तथा सहायक इन्चार्ज पीएनपी लगायतको सहभागितामा वडा केन्द्रित छलफल भएको थियो।
छलफलपछि वडा नम्बर ६ का स्थापित नेता विकास थापासँग पनि भेटघाट गरी पार्टी निर्माण तथा संगठनात्मक विषयमा कुराकानी गरिएको अभियानमा सहभागीहरूले बताएका छन्।
त्यसैदिन धुलाबारीमा पार्टी नेता प्रकाश भण्डारीसँग भेटघाट भएको थियो। भेटमा विगतका राजनीतिक गतिविधिको स्मरणसँगै संगठनात्मक विषय र आगामी राजनीतिक गतिविधिबारे छलफल भएको जनाइएको छ।
अभियान टोलीले मेचीनगर–१४ का वडा अध्यक्ष तथा पार्टी प्रदेश कमिटी सदस्य बाबुलाल सुब्बासँग पनि भेटघाट गरेको थियो। उहाँकै कार्यकक्षमा भएको छलफलमा अभियानका गतिविधि तथा आगामी योजनाबारे कुराकानी भएको बताइएको छ।
अभियानको तेस्रो दिन मेचीनगर–७ मा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरिएको थियो। सर भागीरथ भण्डारीको निवासमा भएको छलफलमा केन्द्रीय कमिटी सदस्य तथा अभियानकी मेचीनगर उपप्रमुख सविता भण्डारी भेटवाल, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहसंयोजक बीपी भट्टराई, प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज ज्ञानेन्द्र भण्डारी, नगर संयोजक खगेन्द्र सिग्देललगायत सहभागी थिए।
त्यसपछि वडा नम्बर ७ का स्थानीय नेता बिमला आचार्य, प्रदेश कमिटी सदस्य प्रनिता ढकाल तथा अग्रज नेता तारा ओलीसँग छुट्टाछुट्टै भेटघाट र छलफल गरिएको थियो। वडा तहको कामको बाँडफाँड तथा आगामी गतिविधिको तयारीपछि टोली वडा नम्बर ८ पुगेको थियो।
वडा नम्बर ८ मा हस्तबहादुर थापा ‘मन्जिल’, मनिता राईलगायतसँग छलफल गरी आगामी संगठनात्मक कामको योजना बनाइएको थियो। वडा तहको तयारी तथा योजना निर्माणको जिम्मेवारी पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा नेपाली सेनाबाट अवकाशप्राप्त गंगा थापालाई दिइएको अभियानमा सहभागीहरूले बताएका छन्।
अभियानको दोस्रो दिन मेचीनगर–१० मा जिम्मेवार कार्यकर्तासँग छलफल गर्दै वडा नम्बर १५ तर्फ टोली पुगेको थियो। वडा नम्बर १५ मा अग्रज नेता प्रेम ढुंगानासँग पार्टी निर्माणका सम्भावना र चुनौतीबारे छलफल गरिएको थियो।
त्यसपछि प्रशान्तको निवासमा पनि राजनीतिक तथा संगठनात्मक विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा नगर संयोजक खगेन्द्र सिग्देल, निर्वाचन क्षेत्रीय समितिका इन्चार्ज ज्ञानेन्द्र भण्डारी, नगर सहइन्चार्ज कृष्ण कौशल सिटौला, वडा नम्बर १५ का नेता बसन्त राजवंशी, मिलन प्रसाई, गोपाल राजवंशीलगायतको सहभागिता रहेको थियो।
टोलीले महान् सहिद वीरेन्द्र राजवंशीको प्रतिष्ठानमा पुगेर श्रद्धाञ्जलीसमेत अर्पण गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी सदस्य तथा अभियानकी मेचीनगर समन्वय उपप्रमुख सविता भण्डारी भेटवालको निवासमा छलफल गरिएको थियो।
पार्टीले मेचीनगरका सबै १५ वटै वडामा अभियान विस्तार गर्ने जनाएको छ। वडा तहमा बैठक तथा संगठनात्मक छलफल, सदस्यता नवीकरण र वितरण, जिम्मेवारी बाँडफाँड तथा स्थानीय तहका गतिविधिको समीक्षा अभियानका प्रमुख कार्यसूचीमा छन्।
त्यसैगरी सहिद, घाइते तथा बेपत्ता परिवारसँग भेटघाट, अग्रज नेतृत्वसँग परामर्श, पूर्व जनमुक्ति सेनाका सदस्यसँग संवाद र पार्टीका विभिन्न तहमा निष्क्रिय रहेका वा जिम्मेवारीविहीन भएका कार्यकर्ताको भूमिकाबारे निर्णय गर्ने तयारीसमेत गरिएको छ।
अभियानअन्तर्गत स्थानीय राजनीतिक तथा वैचारिक समूह र व्यक्तिसँग संवाद गर्ने तथा संगठनलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भइरहेको पार्टीले जनाएको छ।
अभियानका क्रममा आकस्मिक रूपमा आयोजित छलफलमा समेत सहभागी नेता–कार्यकर्ताप्रति अभियान टोलीले धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा मेचीनगरका बाँकी वडामा बैठक, भेटघाट र संगठनात्मक छलफललाई निरन्तरता दिने दुलालले बताए ।

