२०८३, कार्तिक ९ गते

Oct 25 2026

युरोपमा डिजेलभन्दा विद्युतीय सवारी चार्ज गर्न आधाभन्दा कम खर्च

युरोपमा डिजेलभन्दा विद्युतीय सवारी चार्ज गर्न आधाभन्दा कम खर्च

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । युरोपमा डिजेल सवारीसाधनमा इन्धन भर्नुभन्दा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ ।

    ब्रसेल्सस्थित वातावरण संरक्षण संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्ट (T&E) ले सार्वजनिक गरेको विश्लेषणले विद्युतीय सवारीसाधनतर्फको रूपान्तरणलाई थप तीव्रता दिनुपर्ने देखाएको हो ।

    अध्ययनअनुसार १०० किलोमिटर यात्रा गर्दा डिजेल सवारीसाधनले औसत ६.९ लिटर इन्धन खपत गर्छ भने ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनले सोही दूरीका लागि औसत २०.२ किलोवाट घण्टा विद्युत् खपत गर्छ ।

    प्रतिकिलोवाट घण्टा विद्युत्को औसत मूल्य ०.३४३ युरोका आधारमा गरिएको गणनामा विद्युतीय सवारी चार्ज गर्ने खर्च डिजेलमा लाग्ने खर्चभन्दा उल्लेखनीय रूपमा कम देखिएको हो । अध्ययनले सबैका लागि समान रूपमा इन्धन कर घटाउनुको सट्टा न्यून आय भएका परिवारलाई लक्षित गरी राहत तथा सहयोग उपलब्ध गराउन सुझाव दिएको छ । 

    ऊर्जा कम्पनीबाट उठ्ने अतिरिक्त करलाई सार्वजनिक यातायातको विकास र पुराना सवारीसाधन विस्थापन कार्यक्रमका लागि प्रयोग गर्न सकिने पनि संस्थाले जनाएको छ ।

    T&E का वरिष्ठ निर्देशक एन्टोनी फ्रोगाटका अनुसार डिजेलको मूल्य उच्च रहेको अवस्थामा युरोप ऊर्जा संकटको संवेदनशील चरणमा छ । अमेरिकाबाट डिजेल निर्यातमा अवरोध आएमा आपूर्ति अभावको जोखिम थप बढ्न सक्ने उनको भनाइ छ ।

    उनले दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधनको विस्तारले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन सहयोग गर्ने बताए । यद्यपि तत्कालका लागि उपभोक्ता तथा व्यवसायलाई राहत दिने उपाय आवश्यक रहेको उनले जोड दिए ।

    अध्ययनअनुसार यस वर्षको सुरुवातको तुलनामा अहिले ५० लिटर डिजेल भर्न करिब ३२ युरो बढी खर्च भइरहेको छ । त्यसमध्ये करिब १६ युरो बराबरको वृद्धि इन्धन प्रशोधनबाट हुने नाफामा भएको वृद्धिसँग सम्बन्धित रहेको उल्लेख छ ।

    युरोपेली केन्द्रीय बैंकको अनुमानअनुसार डिजेलको प्रतिलिटर प्रशोधन नाफा फेब्रुअरीमा करिब ०.१० युरो रहेकोमा सेप्टेम्बर १४ आसपास ०.४१ युरो पुगेको थियो । अध्ययनले सवारीसाधनमा इन्धन भर्ने र विद्युतीय सवारी चार्ज गर्ने प्रत्यक्ष खर्चलाई मात्र तुलना गरेको हो ।  यसमा सवारीसाधनको खरिद मूल्य, मर्मतसम्भार तथा अन्य स्वामित्व खर्च समावेश गरिएको छैन ।

    यसैगरी, अर्को अध्ययनले युरोपेली संघका नौ प्रमुख बजारमध्ये छवटा बजारमा ब्याट्रीबाट चल्ने विद्युतीय भारी ट्रकको कुल स्वामित्व खर्च डिजेल ट्रकको भन्दा कम रहेको देखाएको छ । ती बजारले युरोपेली संघमा बिक्री हुने नयाँ भारी ट्रकको करिब ४६ प्रतिशत हिस्सा ओगट्छन् ।

    यसबीच, ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले ऊर्जा संकटको प्रभाव ग्यासमा मात्र सीमित नरहेको भन्दै तेल तथा डिजेलको मूल्यवृद्धितर्फ पनि पर्याप्त ध्यान दिन युरोपेली आयोगलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij