२०८३, कार्तिक ९ गते

Oct 25 2026

विधेयक म्याराथन’ले कानुनको गुणस्तर घटाउँछ : सांसद विश्वकर्मा

विधेयक म्याराथन’ले कानुनको गुणस्तर घटाउँछ : सांसद विश्वकर्मा

रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
रोज नेपाल
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले संसद्बाट काननिर्माण गर्ने क्रममा पर्याप्त छलफल र अध्ययनका लागि समय दिनुपर्ने बताएकी छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्ला दिनमा संसद्को कामकारबाही अत्यधिक हतारमा अघि बढाइएको भन्दै असन्तुष्टि जनाइन्। उनका अनुसार एकै दिनमा धेरै विधेयक पेस गर्ने, छलफल गर्ने र छोटो समयमै संशोधन प्रस्ताव माग्ने अभ्यासले कानुन निर्माणको प्रक्रियामाथि प्रश्न उठाएको छ।

    विश्वकर्माले विशेषगरी महिलाको अधिकार र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयलाई पर्याप्त छलफल नगरी अघि बढाउनु उचित नहुने बताइन्। मातृत्व, गर्भपतन तथा प्रजनन स्वास्थ्यजस्ता संवेदनशील विषय समेटिएका विधेयकमा सांसद तथा सरोकारवालालाई पर्याप्त अध्ययन र छलफलको अवसर दिनुपर्ने उनको भनाइ छ।

    उनले कानुन निर्माणलाई केवल विधेयक पारित गर्ने प्रक्रियाका रूपमा नहेरी त्यसले भविष्यमा पार्ने प्रभावसमेत मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन्।

    सांसद विश्वकर्माले संसद्लाई धेरैभन्दा धेरै विधेयक पारित गर्ने थलोका रूपमा विकास गर्नुभन्दा गुणस्तरीय कानुन बनाउने संस्थाका रूपमा अघि बढाउनुपर्ने बताइन्।

    हतारमा कानुन बनाउँदा त्यसले गलत नजिर स्थापित गर्न सक्ने र पछि त्यसको जिम्मेवारीसमेत संसद्ले लिनुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो।

    सभामुखमार्फत सरकार र संसद्को ध्यानाकर्षण गराउँदै उनले विधेयकमाथि पर्याप्त छलफल, अध्ययन र आवश्यक संशोधनका लागि समय उपलब्ध गराउन माग गरिन्। उनका अनुसार कानुनको सामाजिक तथा राष्ट्रिय प्रभावबारे संसद्भित्रै गम्भीर बहस हुन आवश्यक छ।

     
     
     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij