काठमाडौं । तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख ‘लाइफलाइन’ मार्गमा पटक–पटक विपद् निम्तिएपछि नारायणी र त्रिशूली नदीका दुवै किनारबाट सडक सञ्चालन गर्ने विकल्पबारे अध्ययन अघि बढाइएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणको खाका तयार गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विभागले आफ्नो प्रस्ताव लिखित रूपमा पठाएको छ ।
तत्कालका लागि कृष्णभीरको पारिपट्टि वैकल्पिक सडक निर्माणको काम सुरु भइसकेको उनले बताए । गल्छीदेखि नारायणगढसम्म हाल सडक रहेको भागको पारिपट्टि पनि वैकल्पिक सडक बनाउने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डले छोटो अवधिमै दुई ठूला विपद् सामना गरिसकेको छ । त्यस्तै, मुग्लिङ–नारायणगढ सडकखण्ड स्तरोन्नति भए पनि लेदोसहितको पहिरो, सुक्खा पहिरो तथा ढुंगा खस्ने समस्याका कारण जोखिम कायमै रहेको बताइन्छ ।
भूगर्भशास्त्रीहरूले भने वैकल्पिक सडक निर्माण गर्दा हालको सडकमा दोहोरिएका कमजोरीबाट पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक रञ्जनकुमार दाहालले ठाडा भित्तो काट्ने र जोखिमयुक्त घुम्ती बनाउने परम्परागत शैलीको सट्टा छोटा सुरुङ तथा ‘हाफ ब्रीज’ जस्ता संरचना अपनाउनुपर्ने बताएका छन् ।
उनका अनुसार वैकल्पिक मार्ग निर्माणले यातायातलाई सहज बनाए पनि भू–बनोटको जोखिमलाई ध्यान नदिइए नयाँ सडक पनि पहिरोको जोखिमबाट मुक्त नहुने भएकाले दिगो पूर्वाधारमा जोड दिन आवश्यक छ ।
