काठमाडौँ । झापा आन्दोलन देखि १७ वर्षे जेल जीवन, दुईपटक सांसद हुँदै भूमि सुधार आयोगको अध्यक्षसम्म राजनितीक यात्रा ।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको बुधबार साँझ भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वि.सं. २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत युवा अवस्थामै राजनीतिमा सक्रिय भएका थिए । उनी २०२७–२८ सालको झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए ।
पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षमा सक्रिय रहँदा उनी पक्राउ परेका थिए र आफ्नो राजनीतिक जीवनमा १७ वर्ष जेल जीवन बिताएका थिए ।
नख्खु जेल ब्रेकमा पनि सहभागी
बस्नेतको राजनीतिक जीवन आन्दोलन र जेल संघर्षसँग जोडिएको थियो । पञ्चायती व्यवस्था विरुद्धको गतिविधिमा पक्राउ परेपछि उनले लामो समय कारागारमा बिताए । २०३३ साल चैतमा नख्खु कारागारबाट भएको जेल ब्रेकमा सहभागी १५ जना वामपन्थी नेतामध्ये उनी पनि एक हुन ।
जेलबाट बाहिरिए पछि पनि उनको राजनीतिक सक्रियता रोकिएन । २०४६ सालको जनआन्दोलन पछि बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि उनी खुला राजनीतिमा आएर नेकपा एमालेमा सक्रिय भए ।
दुईपटक प्रतिनिधिसभामा
खुला राजनीतिमा आएपछि बस्नेतले संसदीय राजनीति पनि गरे । उनी २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट संखुवासभा–२ बाट निर्वाचित भएका थिए । त्यसपछि २०५६ सालको निर्वाचनमा भोजपुर–१ बाट पनि प्रतिनिधिसभा सदस्य बने । यसरी आन्दोलन, भूमिगत राजनीतिक गतिविधि र लामो जेल जीवन पछि उनी दुई पटक जन-प्रतिनिधिका रूपमा संसद्मा पुगे ।
भूमि सुधार आयोगको नेतृत्व
बस्नेतको राजनीतिक जिम्मेवारी संसदीय भूमिकामै सीमित रहेन । भूमि सुधारसम्बन्धी विषयमा समेत उनले जिम्मेवारी सम्हालेका थिए । २०६६/६७ सालतिर गठन भएको उच्चस्तरीय भूमि सुधार आयोगको अध्यक्षका रूपमा उनले भूमि स्वामित्व, भूमिहीन तथा सुकुम्बासीका समस्या र दोहोरो स्वामित्व लगायत विषयमा काम गरेका थिए ।
एमाले हुँदै पछिल्लो वामपन्थी राजनीतिमा
बस्नेतले लामो समय नेकपा एमालेमा रहेर राजनीतिक गतिविधि गरे । एमाले विभाजन पछि उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध भए । त्यसपछि वामपन्थी राजनीतिक पुन-र्संरचनाका क्रममा उनी नयाँ राजनीतिक अभियानसँग जोडिएका थिए । पछिल्लो समय उनी वामपन्थी राजनीतिमै सक्रिय रहँदै आएका थिए ।
राजनीतिक जीवनमा उनले लामो संघर्ष, जेल जीवन र विभिन्न जिम्मेवारी सम्हालेका थिए । पछिल्ला वर्षमा पनि उनी नेपाली कम्युनिस्ट आन्दोलनको अवस्था र त्यसमा देखिएका परिवर्तनबारे आफ्ना धारणा सार्वजनिक गर्दै आएका थिए ।
उपचारका क्रममा आर्थिक सहयोग अभियान
क्यान्सरबाट लामो समयदेखि पीडित बस्नेतको उपचारका लागि केही समयअघि आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरिएको थियो ।
फोक्सो र घाँटीको क्यान्सरबाट पीडित उनको उपचारमा सहयोग गर्न वामपन्थी नेता तथा शुभेच्छुकहरूले सहयोगको अपिल गरेका थिए ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहीँ उपचारका क्रममा बुधबार साँझ उनको निधन भयो।
बस्नेतको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिएको छ । पारिवारिक स्रोतका अनुसार अन्तिम संस्कारअघि श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
झापा आन्दोलनबाट सुरु भएको राजनीतिक यात्रा, करिब १७ वर्षको जेल जीवन, नख्खु जेल ब्रेक, दुईपटकको संसदीय जिम्मेवारी र भूमि सुधारसम्बन्धी भूमिकासम्म पुगेका थिए । बस्नेतको निधनसँगै नेपाली वामपन्थी राजनीतिमा लामो समय सक्रिय रहेको एक पुस्ताको राजनीतिक यात्रा अन्त्य भएको छ ।
