काठमाडौँ । बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अहिले महानिर्देशक विहीन बनेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएको भोलिपल्टै विभागका तत्कालीन महानिर्देशक मोतीराम सापकोटाको सरुवा भएपछि नयाँ महानिर्देशक नियुक्त हुन नसक्दा विभागमा नेतृत्वको अभाव भएको हो ।
गत भदौ २४ गते दिपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए । त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन महानिर्देशक सापकोटालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
सरुवा पछि सापकोटाले असोज १२ गते गुल्मीको प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी सम्हालेका छन् । त्यसयता वाणिज्य विभागमा नयाँ महानिर्देशक नियुक्त हुन सकेको छैन ।
चाडपर्वको समयमा बजारमा कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धिको जोखिम बढ्ने भए पनि विभाग नेतृत्वविहीन हुँदा अनुगमन र कारबाही प्रभावकारी हुने विषयमा प्रश्न उठेको छ। यद्यपि मन्त्रालयले नियमित बजार अनुगमन नरोकिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जितेन्द्रबहादुर बस्नेतका अनुसार अन्य निर्देशकमार्फत निमित्त जिम्मेवारी दिएर बजार अनुगमन लगायतका कामलाई निरन्तरता दिइएको छ । उनका अनुसार नयाँ महानिर्देशकका लागि मन्त्रालयमा सरुवा भएर आएका सहसचिवमध्येबाट जिम्मेवारी दिने तयारी भइरहेको छ ।
महानिर्देशकको अनुपस्थितिमा विभागले गर्ने केही अर्धन्यायिक निर्णय भने प्रभावित भएका छन् । गम्भीर प्रकृतिका कैफियतमा जरिवाना तथा कारबाहीसम्बन्धी निर्णय गर्ने अधिकार महानिर्देशक सँग रहने भएकाले त्यस्ता निर्णयहरू नयाँ नेतृत्व आएपछि मात्रै अघि बढ्ने मन्त्रालयले जनाएको छ ।
