नवराज काफ्ले
काठमाडौं । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सामाजिक अभियन्ता नवराज काफ्लेले ज्येष्ठ नागरिकप्रति सम्मान, संरक्षण र आत्मीय व्यवहार आवश्यक रहेको बताएका छन्।
दिवसका अवसरमा सन्देश जारी गर्दै काफ्लेले ज्येष्ठ नागरिकलाई उमेरका आधारमा मात्र नभई जीवनभरको अनुभव, संघर्ष, योगदान र संस्कारका वाहकका रूपमा बुझ्नुपर्ने उल्लेख गरेका छन्। परिवार र समाज निर्माणमा ज्येष्ठ पुस्ताले पुर्याएको योगदानलाई सम्मान गर्दै उनीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्।
काफ्लेका अनुसार ज्येष्ठ नागरिकका जीवनका भोगाइ र अनुभव समाजका लागि महत्वपूर्ण ज्ञानको स्रोत हुन्। उनीहरूको जीवनमा समेटिएका संघर्षका कथा, संस्कार र व्यवहारबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने भएकाले ज्येष्ठ पुस्तासँगको संवादलाई निरन्तरता दिन आवश्यक छ।
उनले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित बनाउन परिवार र समाज दुवैको भूमिका महत्वपूर्ण हुने बताए। घरमा ज्येष्ठ नागरिकको आत्मसम्मान कायम राख्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र भावनात्मक आवश्यकतालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
आजका ज्येष्ठ नागरिक भोलिको पुस्ताका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै काफ्लेले पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय र बलियो बनाउन आग्रह गरेका छन्। उनका अनुसार अहिले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारले भविष्यमा आफूले पाउने सामाजिक संस्कारसमेत निर्धारण गर्ने भएकाले सम्मान र सहानुभूतिको संस्कार विकास गर्न आवश्यक छ।
दिवसका अवसरमा उनले ज्येष्ठ नागरिकका अनुभव सुन्ने, उनीहरूसँग समय बिताउने र आवश्यक सहयोग गर्ने संस्कारलाई परिवारदेखि समुदायसम्म विस्तार गर्न आह्वान गरेका छन्।
काफ्लेले ज्येष्ठ नागरिकको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको जीवन सुरक्षित, स्वस्थ, सम्मानित र सुखमय बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। साथै उनले पुस्ताबीचको दूरी घटाउँदै आपसी माया, सम्मान र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देशभरका ज्येष्ठ नागरिकप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उनीहरूको अनुभव र योगदानप्रति नमनसमेत गरेका छन्।
सामाजिक अभियन्ता
