काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यको पदपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। बिहीबार राष्ट्रियसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पद लामो समय रिक्त नराख्ने सरकारको तयारी रहेको बताएकी हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट बैठकमा जवाफ दिँदै मन्त्री गौतमले निर्वाचित सदस्यतर्फ रिक्त रहेको पदका लागि निर्वाचन आयोगले कानुनअनुसार उपनिर्वाचन प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन्।
त्यस्तै, राष्ट्रपतिबाट मनोनयन हुने सदस्यको पदपूर्तिका लागि सरकारले उपयुक्त व्यक्तिको सिफारिस गर्ने तयारी गरिरहेको उनले बताइन्। मनोनयन गर्दा संविधानले सुनिश्चित गरेको समावेशिता, सम्बन्धित व्यक्तिको योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई आधार बनाइने उनको भनाइ थियो।
मन्त्री गौतमका अनुसार राजनीतिक परिवर्तन र सरकार गठन–पुनर्गठनको संक्रमणकालीन परिस्थितिका कारण मनोनित सदस्यको पदपूर्तिको प्रक्रिया अपेक्षित समयमा अघि बढ्न सकेको थिएन। तर संसद्को सदस्य पद रिक्त राखिरहनु उचित नहुने विषयमा सरकार सचेत रहेको उनले स्पष्ट पारिन्।
आगामी दिनमा संघीय संसद्, निर्वाचन आयोग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच आवश्यक समन्वयलाई प्रभावकारी बनाइने पनि मन्त्री गौतमले बताइन्। कुनै सदस्यको पद रिक्त भएपछि त्यसको पूर्तिका लागि आवश्यक निर्वाचन वा सिफारिस प्रक्रिया समयमै सुरु गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।
सरकारले राष्ट्रियसभाको संस्थागत भूमिका प्रभावकारी बनाउन रिक्त पदहरूमा संवैधानिक र कानुनी प्रक्रियाअनुसार यथाशीघ्र पदपूर्ति गर्ने तयारी गरेको मन्त्री गौतमले जानकारी दिइन्।
