लक्ष्मण गुरुङ
आज ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। ‘दीर्घायुको युग : लामो जीवनका लागि प्रणालीमा पुनर्विचार’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर १ आउँछ, शुभकामना आदानप्रदान हुन्छ, कार्यक्रम आयोजना हुन्छन्, ज्येष्ठ नागरिकका अधिकार र सम्मानका विषयमा भाषण हुन्छन्। तर प्रश्न के हो भने दिवस सकिएपछि ज्येष्ठ नागरिकको जीवनमा के परिवर्तन आउँछ ? उनीहरूको एक्लोपन घट्छ कि बढ्छ ? स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ कि हुँदैन ? परिवारमा सम्मान बढ्छ कि घट्छ ? राज्यका नीति उनीहरूको घरदैलोमा पुग्छन् कि कागजमै सीमित हुन्छन् ? यही प्रश्नको इमानदार उत्तर खोज्ने दिन हो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस।
ज्येष्ठ नागरिकलाई दया चाहिएको होइन, अधिकार चाहिएको हो। उनीहरूलाई औपचारिक सम्मान मात्र होइन, सम्मानपूर्वक बाँच्ने सामाजिक र राज्यीय वातावरण चाहिएको हो। जीवनभर परिवार, समाज र राष्ट्र निर्माणमा योगदान गरेका नागरिकले जीवनको उत्तरार्धमा अपमान, उपेक्षा, एक्लोपन र असुरक्षासँग संघर्ष गर्नुपर्ने अवस्था कुनै पनि सभ्य समाजको उपलब्धि हुन सक्दैन।
हाम्रा ज्येष्ठहरू हाम्रो अतीत मात्र होइनन्। उनीहरू वर्तमानको अनुभव र भविष्यको मार्गदर्शनका आधार हुन्। उनीहरूका निधारका चाउरी केवल बुढ्यौलीका संकेत होइनन्, ती समयसँग लडेका संघर्षका रेखा हुन्। सेता कपाल केवल उमेरको परिचय होइनन्, ती पुस्तौँको अनुभव बोकेका दस्तावेज हुन्। काँपेका हातहरू कमजोरीका प्रतीक मात्र होइनन्, ती हातले खेत जोतेका छन्, घर बनाएका छन्, सन्तान हुर्काएका छन्, समाज निर्माण गरेका छन् र राष्ट्रको अर्थतन्त्रमा आफ्नो श्रम दिएका छन्। तर विडम्बना जसले आफ्नो जीवनको ठूलो हिस्सा अरूका लागि खर्च गरे, उनीहरूकै जीवनको उत्तरार्धमा समाजले उनीहरूको योगदान बिर्सन थालेको छ।
बदलिँदो पारिवारिक संरचनाले ज्येष्ठ नागरिकको जीवनमा नयाँ चुनौती थपेको छ। संयुक्त परिवारको ठाउँमा एकल परिवार विस्तार हुँदै गएको छ। रोजगारी र अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढेको छ। शहरको जीवन महँगो र व्यस्त हुँदै गएको छ। प्रविधिले मानिसलाई नजिक ल्याएजस्तो देखिए पनि कतिपय अवस्थामा परिवारभित्रै भावनात्मक दूरी बढाएको छ। यस्तो परिस्थितिमा ज्येष्ठ नागरिक आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि असुरक्षित बन्दै गएका छन्।
वृद्धावस्था जीवनको स्वाभाविक चरण हो। बाल्यकालमा हामी अरूको सहारामा हुर्किन्छौँ। वृद्धावस्थामा पनि मानिसलाई माया, स्नेह, सुरक्षा र सहारा चाहिन्छ। तर हाम्रो सामाजिक सोचमा एउटा गम्भीर विरोधाभास देखिन्छ बालबालिकाको निर्भरतालाई स्वाभाविक मानिन्छ, ज्येष्ठ नागरिकको निर्भरतालाई कतिपय अवस्थामा बोझका रूपमा हेरिन्छ। यही सोच बदल्न आवश्यक छ।
मानिसको मूल्य उसको उत्पादन क्षमताले मात्र निर्धारण हुँदैन। काम गर्न सक्दा उपयोगी र काम गर्न नसक्दा अनुपयोगी ठान्ने दृष्टिकोण मूलतः अमानवीय दृष्टिकोण हो। एउटा मानिसले आफ्नो जीवनभर गरेको योगदानलाई उसको जीवनको अन्तिम चरणमा केही वर्षको शारीरिक निर्भरताले मेटाउन सक्दैन। ज्येष्ठ नागरिकले आज काम गर्न नसके पनि उनीहरूले हिजो गरेको कामको मूल्य समाजले बिर्सन मिल्दैन। यसर्थ ज्येष्ठ नागरिकको प्रश्नलाई ‘कल्याण’को सीमित दृष्टिले हेर्नु पर्याप्त छैन। यो सामाजिक न्यायको प्रश्न हो। यो मानवअधिकारको प्रश्न हो। यो पुस्ताबीचको न्यायको प्रश्न हो।
नेपालले अन्तर्राष्ट्रिय तहमा ज्येष्ठ नागरिकको अधिकार र संरक्षणका विषयमा विभिन्न प्रतिबद्धता जनाएको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रदेखि संयुक्त राष्ट्रसङ्घका ज्येष्ठ नागरिकसम्बन्धी सिद्धान्त र म्याड्रिड अन्तर्राष्ट्रिय कार्ययोजनासम्मका दस्तावेजले ज्येष्ठ नागरिकलाई मर्यादा, स्वतन्त्रता, सहभागिता, हेरचाह र आत्मनिर्णयको अधिकारसहित हेर्ने दृष्टिकोण अघि सारेका छन्। नेपालले पनि ज्येष्ठ नागरिकसम्बन्धी नीति, ऐन, नियम, सामाजिक सुरक्षा र विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर नीति हुनु र नीति प्रभावकारी हुनु फरक कुरा हो।
कानुनले अधिकार दिएको छ भन्दैमा अधिकार व्यवहारमा सुनिश्चित हुँदैन। सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु आवश्यक छ, तर त्यतिमै ज्येष्ठ नागरिकको सम्पूर्ण आवश्यकता पूरा हुँदैन। स्वास्थ्य उपचार, औषधि, मानसिक स्वास्थ्य, सामाजिक सहभागिता, सुरक्षित आवास, सार्वजनिक सेवामा सहज पहुँच, यातायात, मनोरञ्जन र सम्मानपूर्ण सामाजिक जीवन पनि उत्तिकै आवश्यक छन्। ज्येष्ठ नागरिकलाई केवल भत्ता बुझ्ने नागरिकका रूपमा सीमित गर्नु उनीहरूको गरिमामाथिको अन्याय हो। राज्यले उनीहरूलाई सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिक मात्र होइन, ज्ञान र अनुभवको स्रोतका रूपमा हेर्नुपर्छ।
नेपालको ठूलो समस्या के हो भने हामी अनुभवलाई उपयोग गर्ने संरचना निर्माण गर्न कमजोर छौँ। एउटा शिक्षकको दशकौँको अनुभव, किसानको पुस्तौँदेखिको कृषि ज्ञान, उद्यमीको व्यावसायिक अनुभव, प्रशासनिक सेवाबाट निवृत्त व्यक्तिको संस्थागत ज्ञान, कलाकारको सिर्जनात्मक अनुभव, सामाजिक अभियन्ताको समुदाय बुझ्ने क्षमता यी सबै राष्ट्रिय सम्पत्ति हुन्। तर अवकाशसँगै ती अनुभवलाई पनि अवकाश दिइन्छ। यो सोच बदलिनुपर्छ।
ज्येष्ठ नागरिकका अनुभवलाई विद्यालय, विश्वविद्यालय, स्थानीय समुदाय, कृषि, उद्यम, संस्कृति, सामाजिक सेवा र सार्वजनिक नीति निर्माणसँग जोड्न सकिन्छ। ‘अनुभव हस्तान्तरण कार्यक्रम’मार्फत नयाँ पुस्तालाई ज्येष्ठ पुस्ताको ज्ञानसँग जोड्न सकिन्छ। स्थानीय तहले आफ्ना क्षेत्रमा रहेका अनुभवी नागरिकको ज्ञान र सीप अभिलेखीकरण गरेर पुस्तान्तरणको माध्यम बनाउन सक्छन्। यसबाट ज्येष्ठ नागरिकको आत्मसम्मान बढ्नुका साथै नयाँ पुस्ताले जीवन र समाजका वास्तविक अनुभवबाट सिक्ने अवसर पाउँछ।
ज्येष्ठ नागरिकको सम्मानको पहिलो पाठ घरबाट सुरु हुन्छ। राज्यले कानुन बनाउन सक्छ, बजेट छुट्याउन सक्छ, कार्यक्रम सञ्चालन गर्न सक्छ। तर वृद्ध आमाबुबाको एक्लोपन हटाउने, उनीहरूको कुरा सुन्ने, औषधि समयमै खुवाउने, साथ दिने र आत्मीयता प्रदान गर्ने काम अन्ततः परिवारको पनि जिम्मेवारी हो।
‘मातृ देवो भवः, पितृ देवो भवः’ भन्ने संस्कार हाम्रो समाजमा लामो समयदेखि उच्चारण हुँदै आएको छ। अब त्यो संस्कारलाई व्यवहारमा उतार्ने बेला आएको छ। आमाबुबालाई वृद्धाश्रममा राख्नु आफैँमा अपराध हो भन्न मिल्दैन कतिपय अवस्थामा सुरक्षित र व्यवस्थित हेरचाहका लागि त्यस्ता संस्थाको आवश्यकता पनि हुन्छ। तर आफ्नै जिम्मेवारीबाट पन्छिन वृद्धाश्रमलाई सजिलो विकल्प बनाउने प्रवृत्तिमाथि भने समाजले गम्भीर बहस गर्नुपर्छ।
त्यसैगरी, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारलाई ‘घरभित्रको कुरा’ भनेर पन्छाउन मिल्दैन। आर्थिक शोषण, सम्पत्ति हडप्ने प्रयास, अपमान, धम्की, एक्ल्याउने व्यवहार र शारीरिक तथा मानसिक हिंसा मानवअधिकारको उल्लङ्घन हुन्। यस्ता घटनाको पहिचान, उजुरी, कानुनी उपचार र पुनःस्थापनाका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभावकारी संयन्त्र आवश्यक छ।
ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न राज्यका तीनै तहले स्पष्ट जिम्मेवारी लिनुपर्छ। स्थानीय तहमा दिवा सेवा तथा मिलन केन्द्र, स्वास्थ्य परीक्षण, परामर्श, मनोरञ्जन र सामाजिक सहभागिताका कार्यक्रम विस्तार गर्न सकिन्छ। अशक्त तथा पूर्णरूपमा परनिर्भर ज्येष्ठ नागरिकका लागि गुणस्तरीय स्याहार केन्द्रको व्यवस्था आवश्यक छ। सार्वजनिक भवन, अस्पताल, यातायात र सरकारी सेवाहरू ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्छ। तर यसभन्दा पनि ठूलो कुरा सामाजिक सोचमा परिवर्तन हो।
ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण बदल्न नसके कुनै कानुन र बजेटले मात्र समस्या समाधान गर्दैन। समाजले उमेरलाई कमजोरीको पर्याय होइन, अनुभवको पर्यायका रूपमा बुझ्नुपर्छ। नयाँ पुस्ताले ज्येष्ठ पुस्ताबाट सिक्ने संस्कार विकास गर्नुपर्छ। पुस्ताबीचको दूरी बढाउने होइन, संवादको पुल निर्माण गर्नुपर्छ।
आज हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भनेको केवल उनीहरूको विगतलाई सम्मान गर्नु होइन; आफ्नै भविष्यलाई सम्मान गर्नु हो। किनकि आजका युवा भोलिका ज्येष्ठ नागरिक हुन्। आज हामीले आफ्ना अग्रजसँग गर्ने व्यवहार नै भोलि हाम्रो पुस्ताप्रति फर्किएर आउने सामाजिक संस्कार हो।
त्यसैले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई आत्मसमीक्षाको दिन बनाउनुपर्छ। घरमा ज्येष्ठ नागरिकको अवस्था कस्तो छ ? राज्यका सेवा उनीहरूको पहुँचमा छन् कि छैनन् ? उनीहरू निर्णय प्रक्रियामा सहभागी छन् कि छैनन् ? उनीहरूको ज्ञान र अनुभवको उपयोग भएको छ कि छैन ? उनीहरू सुरक्षित, सम्मानित र आत्मसम्मानका साथ बाँचिरहेका छन् कि छैनन् ? यी प्रश्नको उत्तर खोज्नुपर्छ। हाम्रा ज्येष्ठहरू हाम्रो गौरव हुन्। उनीहरू इतिहासका साक्षी मात्र होइनन्, समाजका जीवित पाठशाला हुन्। उनीहरूका अनुभवलाई सम्मान गर्नु, अधिकार सुनिश्चित गर्नु र उनीहरूको ज्ञानलाई नयाँ पुस्तासँग जोड्नु हाम्रो साझा दायित्व हो।
ज्येष्ठ नागरिकलाई बोझ ठान्ने समाज अन्ततः आफ्नै भविष्यलाई बोझ ठान्ने समाज बन्छ। ज्येष्ठलाई सम्मान गर्ने समाजले मात्र पुस्ताबीचको न्याय, मानवता र सभ्यताको अर्थ जोगाउन सक्छ। ज्येष्ठ हुनु कमजोरी होइन जीवनभरको संघर्षबाट आर्जित गौरव हो। उमेर बढ्नु बोझ होइन अनुभव बढ्नु राष्ट्रिय सम्पत्ति हो। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले हामीलाई यही चेतना देओस् ज्येष्ठ नागरिकको सम्मान भाषणमा होइन, व्यवहारमा; अधिकार कागजमा होइन, जीवनमा; र सुरक्षा घोषणामा होइन, अनुभूतिमा देखिनुपर्छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना ।
