काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले नेपालको संसदीय अभ्यासको प्रभावकारिता र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले आफ्नो भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आचार्यले संसद्का गतिविधि प्रभावकारी बन्न नसक्दा यसको भूमिका औपचारिकतामा सीमित हुने जोखिम बढेको बताए। उनका अनुसार संसद् जनताका समस्या उठाउने थलो मात्र नभई तिनको समाधान खोज्ने प्रभावकारी माध्यम पनि बन्नुपर्छ।
संसद् समयमै सञ्चालन नहुनु, बैठकका लागि आवश्यक गणपूरक संख्या नपुग्नु तथा सांसदहरूको अनुपस्थिति जस्ता विषयले संसदीय संस्थाको गरिमा र कार्यक्षमतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
उनले पछिल्लो ६ महिनामा जनसरोकारका विषय हजारौँ पटक संसद्मा उठाइए पनि त्यसबाट ठोस उपलब्धि हासिल भए–नभएको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
आचार्यले सांसदहरूबीच आपसी प्रतिस्पर्धाभन्दा मुलुकका साझा समस्याविरुद्ध सहकार्य आवश्यक रहेको बताए। उनले गरिबी, कुशासन र नागरिकमा बढ्दै गएको निराशालाई साझा चुनौतीका रूपमा लिएर संसद्ले परिणाममुखी काम गर्नुपर्ने धारणा राखे।
यसैगरी, उनले कानुन निर्माणको प्रक्रियामा सांसदहरूको भूमिकालाई पनि थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्म संसद्ले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो।
