काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै दिल्लीमा भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
दिल्लीको जन्तरमन्तर क्षेत्रमा शुक्रबार भएको प्रदर्शनमा विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न राजनीतिक दलसँग आबद्ध नेताहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियाप्रति प्रश्न उठाउँदै मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्।
‘ककरोच जनता पार्टी’ (सीजेपी) ले निर्वाचनसम्बन्धी सुधार तथा कुमारको राजीनामाको मागलाई लिएर देशव्यापी अभियान घोषणा गरेको छ। सीजेपीले विशेष मतदाता नामावली पुनरावलोकन (एसआईआर) प्रक्रियामा देखिएका विषयबारे निर्वाचन आयोगले स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गर्दै आएको छ।
प्रदर्शनका क्रममा आम आदमी पार्टी (आप) का नेताहरू पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, पूर्वमन्त्री सौरभ भारद्वाजसहित अन्य आप नेता तथा विद्यार्थी संगठनका प्रतिनिधि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जन्तरमन्तर क्षेत्रमा विभिन्न वामपन्थी तथा विद्यार्थी संगठनका कार्यकर्ता पनि प्रदर्शनमा सहभागी भएका थिए। राष्ट्रिय जनता दलका सांसद मनोज झा तथा अन्य विपक्षी नेताहरूले पनि निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा आपत्ति जनाउँदै प्रदर्शनमा सहभागिता जनाएको समाचारहरूमा उल्लेख छ।
यसअघि पनि सीजेपीसहित विपक्षी समूहहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै आन्दोलनको घोषणा गरेका थिए। निर्वाचन आयोगले भने मतदाता नामावली पुनरावलोकनको उद्देश्य दोहोरो तथा अयोग्य नाम हटाउनु रहेको बताउँदै प्रक्रियाबारे उठाइएका आरोपहरू अस्वीकार गर्दै आएको छ।
