हुम्ला । हुम्लामा क्रियाशील विभिन्न बामपन्थी कम्युनिस्ट पार्टी तथा राजनीतिक धारका प्रतिनिधिहरूबीच ‘हुम्लाको कम्युनिस्ट आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति हुम्लाको आयोजनामा सिमकोटमा आयोजित उक्त कार्यक्रममा जिल्लाको कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिएको छ।
कार्यक्रममा हुम्लामा कम्युनिस्ट आन्दोलनको सुरुआतदेखि हालसम्मको राजनीतिक यात्रा, साङ्गठनिक अनुभव, प्राप्त उपलब्धि तथा विगतका कमजोरीहरूको गहन समीक्षा गरियो। सहभागीहरूले वैचारिक मतभिन्नतालाई स्वस्थ बहस र संवादमार्फत समाधान गर्दै बदलिँदो सामाजिक-आर्थिक परिस्थितिअनुसार आन्दोलनलाई थप जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
स्थानीय विकास र जनजीविकाका सवालमा घनीभूत छलफल
अन्तरक्रियामा हुम्लाको भौगोलिक विकटता, बेरोजगारी, शिक्षा, स्वास्थ्य, यातायात तथा सञ्चारको पहुँच जस्ता मुख्य समस्याहरूमाथि विस्तृत चर्चा भयो। साथै, स्थानीय स्रोत-साधनको उपयोग, कृषि, पशुपालन, जडीबुटी संकलन, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमार्फत रोजगारी सिर्जना गरी युवाहरूलाई जिल्लामै रोक्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको थियो।
यस्तै महिला, युवा, दलित तथा पछाडि पारिएका समुदायको राजनीतिक र सामाजिक सहभागिता वृद्धि गर्दै उत्पादनमुखी राजनीति र सामाजिक न्यायलाई आगामी गतिविधिको प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालिएको छ।
प्रमुख नेताहरूको सहभागिता र निष्कर्ष
संयोजक डा. दिपेन्द्र रोकायाको अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य एवम् हुम्ला इन्चार्ज हस्त शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न दल र धारका १२ जना वक्ताहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा सह-इन्चार्ज रंगमल रोकाया, पूर्व मन्त्री छक्क बहादुर लामा, पूर्व सभापति एवम् नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य विरजंग शाही, प्रेमा लामा र नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञामी बुमी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रियाको अन्त्यमा, अब हुम्लाका कम्युनिस्ट शक्तिहरूबीच अनावश्यक कटुता, व्यक्तिगत आरोप-प्रत्यारोप र विगतका तिक्तता नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरियो। स्वस्थ वैचारिक बहस, जनताका साझा सवालमा सहकार्य र व्यवहारबाट राजनीतिक विश्वास निर्माण गर्ने नयाँ संस्कृति विकास गर्दै अघि बढ्ने सामूहिक निष्कर्षका साथ कार्यक्रम समापन भएको थियो।
