-नवराज तिमल्सिना
काठमाडौंको भीडमा हरेक बिहान हजारौँ सपना जाग्छन् ।कसैको सपना ठूलो हुन्छ, कसैको सानो। तर ती सपनाको मूल्य भने सबैले आफ्नै तरिकाले चुकाइरहेका हुन्छन्।
त्यही भीडको एउटा कुनामा, साँघुरो कोठाभित्र बसेर एउटा विद्यार्थी किताबका पाना पल्टाइरहेको हुन्छ। अगाडि खुला किताब हुन्छ, हातमा कलम हुन्छ, तर मन भने किताबमा मात्र हुँदैन। कहिले कोठाभाडाको चिन्ता हुन्छ, कहिले भोलिको खाना कसरी जुटाउने भन्ने प्रश्न। कहिले घरबाट पैसा माग्न मन लाग्दैन, कहिले फोन गरेर ‘पैसा सकियो’ भन्न पनि सकिँदैन।
काठमाडौं आउँदा उसले सोचेको थियो। पढ्छु, केही गर्छु, आफ्नो भविष्य बनाउँछु। तर काठमाडौंले उसलाई पहिलो दिनदेखि नै एउटा कुरा सिकायो,सपना देख्न सजिलो छ, त्यसलाई जोगाएर राख्न गाह्रो छ।
महिनाको कोठाभाडा तिर्नुपर्छ। पानीको पैसा छुट्टै। बिजुलीको बिल छुट्टै। ग्यास सकिएपछि अर्को खर्च। बजार जाँदा तरकारीको मूल्य हेरेर केहीबेर पसलअगाडि उभिनुपर्छ। आफूलाई मन लागेको होइन, खल्तीले धान्ने तरकारी रोज्नुपर्छ।
कहिलेकाहीँ दालभात खान मन लाग्छ, तर खर्चको हिसाब गर्दा चाउचाउमै दिन कटाउनुपर्ने अवस्था आउँछ।
त्यसपछि सुरु हुन्छ—कामको खोजी। कलेज सकिएपछि हातमा किताब बोकेर ऊ जागिर खोज्दै हिँड्छ। एउटा ठाउँमा ‘अनुभव चाहिन्छ’ भनिन्छ। अर्को ठाउँमा तलब निकै कम हुन्छ। कतै समय मिल्दैन। कतै पढाइ नै छोड्नुपर्ने अवस्था देखिन्छ।
उसलाई पैसा मात्र चाहिएको हुँदैन।उसलाई आफ्नो सपना जोगाउन पैसा चाहिएको हुन्छ।
दिनभरि काम खोजेर थाकेको शरीर लिएर साँझ कोठामा फर्किन्छ। कोठाको ढोका खोल्छ। भित्र उही चारवटा भित्ता हुन्छन्। एउटा ओछ्यान, केही किताब र कुनामा राखिएको एउटा झोला। त्यही झोलाभित्र घरबाट ल्याएको केही कपडा हुन्छन्।र मनभित्र आमाबुबाले राखिदिएको ठूलो विश्वास कहिलेकाहीँ राति निद्रा लाग्दैन,घर सम्झिन्छ, आमाले फोन गरेर सोधेको सम्झिन्छिन्‘बाबु, खाना खायौ?’ऊ जवाफ दिन्छ,‘खाएँ।’
तर त्यो ‘खाएँ’ भित्र कति कुरा लुकेका हुन्छन्, आमालाई थाहा हुँदैन।सायद त्यो दिन उसले आधा पेट खाएको हुन्छ।सायद चिया खाएर रात कटाएको हुन्छ।
सायद भोलिको खर्च सोचेर आजको खाना घटाएको हुन्छ।तर ऊ घरमा आफ्नो दुःख सुनाउँदैन।किनकि उसलाई थाहा हुन्छ।घरमा पनि पैसा सजिलै आउँदैन।
गाउँमा आमाबुबा आफ्नो दुःख लुकाएर छोराछोरीलाई काठमाडौं पठाउँछन्। यहाँ छोराछोरी आफ्नो दुःख लुकाएर पढिरहेका हुन्छन्।
दुवैतिर दुःख छ,फरक यति हो,दुवैले एकअर्कालाई आफ्नो दुःख देखाउन चाहँदैनन्।
काठमाडौंका सडकमा हिँड्दा ऊ कहिलेकाहीँ आफूजस्तै हजारौँ विद्यार्थी देख्छ। कसैको हातमा फाइल हुन्छ, कसैको हातमा किताब। कोही अन्तर्वार्ताका लागि दौडिरहेको हुन्छ। कोही कलेजतिर। कोही पार्टटाइम काम सकेर घर फर्किरहेको हुन्छ।
सबैको अनुहारमा एउटा साझा कुरा देखिन्छ,भोलिको आशा सायद यही आशाले उनीहरूलाई हरेक बिहान फेरि उठाउँछ ।
महँगी बढ्दै जान्छ। कोठाभाडा बढ्छ , तरकारी महँगिन्छ , यातायात खर्च बढ्छ। कलेजको शुल्क तिर्नुपर्छ। इन्टरनेट चाहिन्छ। मोबाइल रिचार्ज गर्नुपर्छ। अनि यी सबैबीच एउटा विद्यार्थीले आफ्नो पढाइ पनि बचाउनुपर्छ।
कहिलेकाहीँ लाग्छ, विद्यार्थी हुनु भनेको किताब पढ्नु मात्र होइन रहेछ।
विद्यार्थी हुनु भनेको अभावसँग सम्झौता गर्न सिक्नु पनि रहेछ । आँसु लुकाएर मुस्कुराउन सिक्नु रहेछ । आफ्नो दुःखभन्दा ठूलो सपना बोकेर हिँड्नु रहेछ।
आज काठमाडौंको कुनै साँघुरो कोठामा बसेर पढिरहेको त्यो विद्यार्थीलाई सायद कसैले देखिरहेको छैन। उसको संघर्षको समाचार कतै छापिँदैन। उसको भोकको कथा सामाजिक सञ्जालमा भाइरल हुँदैन। उसको रातभरको चिन्ता कसैले गन्दैन् ।
तर एक दिन त्यही विद्यार्थी सफल भयो भने सबैले सोध्नेछन्‘यति ठूलो सफलता कसरी पायौ?’सायद उसले मुस्कुराउँदै भन्नेछ,थाहा छैन ।
सायद ती रातहरूले सिकाए, जुन रात भोक लाग्दा पनि किताब खोलेर बसेँ। सायद ती दिनहरूले सिकाए, जुन दिन काम खोज्दै हिँडेर थाक्दा पनि हार मानिनँ ।
सायद त्यो सानो कोठाले सिकायो, जहाँ सपना ठूलो थियो तर खल्ती सानो ।
संघर्षका ती दिनहरू कहिल्यै बिर्सिँदैनन् । किनकि अभावले दिएको पीडा समयसँगै हराउन सक्छ, तर त्यही अभावले सिकाएको धैर्य, मेहनत र आत्मविश्वास जीवनभर साथ रहन्छ ।
काठमाडौंको एउटा सानो कोठाबाट सुरु भएको सपना कुनै दिन ठूलो आकाशसम्म पुग्न सक्छ ।
त्यसैले आज संघर्ष गरिरहेको विद्यार्थीले निराश भएर आफैँलाई नसोधोस्,मसँग किन केही छैन ?’
बरु आफैँलाई सोधोस् ,मसँग सपना छ, त्यसलाई पूरा गर्न म अझै कति टाढा जान सक्छु ?’
किनकि जीवनमा सबैभन्दा सुन्दर कथा त्यही हुन्छ,जहाँ सुरुवात अभावबाट हुन्छ,बाटो संघर्षले भरिएको हुन्छ,
तर अन्त्यमा सफलताको एउटा उज्यालो बिहान पर्खिरहेको हुन्छ । संघर्षका ती दिनहरू कठिन थिए, छन् र सायद रहनेछन् ।तर कुनै दिन पछाडि फर्केर हेर्दा, त्यही संघर्षका दिनहरू नै जीवनका सबैभन्दा मूल्यवान् अध्याय बनेका हुनेछन् ।
