काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको भन्दै देश तथा विदेशमा रहेका पार्टीका साथीहरूबाट उम्मेदवारी दिन सुझाव आएको उनले बताए । प्राप्त सुझावलाई सम्मान गर्दै उपसभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको भट्टराईको भनाइ छ ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । नेविसंघको नेतृत्वमा रहँदा उनले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको बताइएको छ ।
भट्टराईले कांग्रेसलाई आम नागरिकको पार्टीका रूपमा पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अहिलेको लोकप्रियतावादी लोकरिझ्याईं र पुरातनवादी सोच दुवै कांग्रेस तथा मुलुकका लागि चुनौतीपूर्ण छन् ।
उनले आगामी महाधिवेशनमार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने र आफ्नो राजनीतिक शक्ति त्यसैमा केन्द्रित गर्ने बताएका छन् ।
