२०८३, कार्तिक ९ गते

Oct 25 2026

कांग्रेस रूपान्तरणका लागि थापाको प्रतिवेदनमा १४ बुँदे नयाँ प्रस्ताव

कांग्रेस रूपान्तरणका लागि थापाको प्रतिवेदनमा १४ बुँदे नयाँ प्रस्ताव

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको राजनीतिक पुन:र्जागरण र संगठन सुधारलाई केन्द्रमा राख्दै विभिन्न नयाँ प्रस्ताव अघि सारेका   छन् ।

    उनको राजनीतिक प्रतिवेदनमा सामाजिक अभियानदेखि संघीयता, संक्रमणकालीन न्याय, युवा सहभागिता, निर्वाचन सुधार र पार्टीभित्रको भ्रष्टाचार नियन्त्रणसम्मका विषय समेटिएका छन् ।

    प्रतिवेदनले डिजिटल युगमा फैलिने गलत सूचना तथा घृणाजन्य अभिव्यक्तिको सामना गर्न मिडिया साक्षरता र तथ्यमा आधारित संवादलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ ।

    सामाजिक क्षेत्रमा जातीय विभेद, बालविवाह, लैङ्गिक हिंसा, कुपोषण, शिक्षा, स्वास्थ्य र वातावरणका विषयमा कांग्रेसलाई निरन्तर अभियानसँग जोड्ने प्रस्ताव गरिएको    छ ।

    सार्वजनिक शिक्षा र स्वास्थ्यलाई समान अवसरको आधार बनाउँदै महिला,बाल बालिका, ज्येष्ठ नागरिक तथा कमजोर समुदायको सामाजिक सुरक्षा बलियो बनाउनुपर्नेमा जोड दिइएको छ ।

    संघीयताको प्रभावकारिता बढाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुधार, प्रशासनिक क्षमता वृद्धि र वित्तीय संघीयता सुदृढ गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    संविधान संशोधनको विषयलाई तत्कालीन राजनीतिक समीकरणभन्दा राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा पनि राखिएको छ ।

    शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण दिलाउनुपर्ने तथा संक्रमणकालीन न्यायलाई राजनीतिक भागबन्डाबाट अलग  राख्नुपर्ने प्रस्ताव छ ।

    राष्ट्रिय स्वाधीनताको विषयमा ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा देशको क्षमता बढाउनुपर्ने थापाको प्रतिवेदनमा उल्लेख छ । बदलिँदो विश्व राजनीतिमा नेपालको स्वतन्त्र निर्णय क्षमता कायम राख्दै राष्ट्रिय हितमा आधारित विदेश नीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

    त्यस्तै, बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको अवधारणालाई सामाजिक तथा सांस्कृतिक एकताको आधारका रूपमा विस्तार गर्ने प्रस्ताव गरिएको छ ।  हिमाल, पहाड, मधेस, प्रवास तथा विभिन्न समुदायबीच साझा नेपाली पहिचान बलियो बनाउनुपर्ने उल्लेख छ ।

    पार्टी संगठन सुधारतर्फ कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने नभई निरन्तर नागरिकसँग जोडिने संस्थाका रूपमा विकास गर्ने प्रस्ताव छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्दै नेतृत्व विकासका लागि ‘लिडरसिप ट्रेनिङ इन्स्टिच्युट नीति अनुसन्धानका लागि ‘नीति प्रतिष्ठान  निर्वाचन तयारीका लागि ‘निर्वाचन ब्युरो’ र जनप्रतिनिधिलाई सहयोग गर्न ‘गभर्नन्स इन्स्टिच्युट’ स्थापना        गर्ने योजना अघि सारिएको छ ।

    पार्टीभित्र भ्रष्टाचार नियन्त्रणका लागि पदाधिकारी तथा जनप्रतिनिधिमाथि उच्च नैतिक मापदण्ड लागू गर्ने । वित्तीय पारदर्शिता र सार्वजनिक लेखापरीक्षण अनिवार्य बनाउने तथा भ्रष्टाचारसम्बन्धी उजुरी छानबिन गर्न स्वतन्त्र आन्तरिक ‘ओम्बुड्सम्यान’को व्यवस्था गर्ने प्रस्ताव छ ।

    कांग्रेसले न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक स्रोतलाई दल वा व्यक्तिको स्वार्थमा प्रयोग नगर्ने तथा भ्रष्टाचारमा      संलग्न आफ्ना व्यक्तिलाई संरक्षण नगर्ने प्रतिबद्धताको प्रस्ताव गरिएको छ ।

    प्रधानमन्त्री कुनै व्यक्ति दुई कार्यकालभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ । निर्वाचन सुधारअन्तर्गत उम्मेदवार छनोटमा प्राइमरी प्रणाली, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागी र प्रतिनिधिमूलक बनाउने विकल्पमा छलफल अघि बढाउने प्रस्ताव गरिएको छ ।

    शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताका शिक्षा र स्वास्थ्यका लागि           १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।
    युवातर्फ ‘जेन्–जी’ पुस्ताका असन्तोष र मागबारे अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ सहितको विशेष कार्यदल गठन गर्ने र त्यसका सुझावलाई पार्टीको नीति निर्माणमा समेट्ने प्रस्ताव गरिएको छ ।

    प्रतिवेदनमा ‘समुन्नति’ कार्यक्रम कार्यान्वयनका लागि समयसीमा पनि तोकिएको छ। पहिलो १०० दिनमा विगत दुई दशकको राजनीतिक तथा संगठनात्मक समीक्षा, सातै प्रदेशमा समीक्षा प्रक्रिया र पहिलो ‘समुन्नति नीति–पत्र’ सार्वजनिक गर्ने प्रस्ताव छ ।

    त्यसपछि शिक्षा, पोषण, रोजगारी, सुशासन र हरित विकासमा प्रदेशस्तरीय कार्यक्रम अघि बढाउने तथा नियमित रूपमा कार्यसम्पादन समीक्षा गर्ने योजना राखिएको छ ।
    समग्रमा, थापाको प्रतिवेदनले कांग्रेसको सुधारलाई नेतृत्व परिवर्तनमा मात्र सीमित नराखी नीति, संगठन, सुशासन, रोजगारी, सामाजिक सुरक्षा, युवा सहभागिता, प्रविधि, जलवायु र राष्ट्रिय स्वाधीनतासम्म विस्तार गरेको देखिन्छ ।

    ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई मूल अवधारणा बनाउँदै कांग्रेसलाई निर्वाचन केन्द्रित दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा विकास गर्ने कार्यदिशा प्रतिवेदनले अघि सारेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij