काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक परिवर्तनको उपलब्धि जनताको दैनिक जीवनमा अनुभूति हुने गरी काम गर्न नसके राजनीतिप्रतिको विश्वास अझ कमजोर बन्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले देशमा बेरोजगारी, युवा पलायन र जनताको बढ्दो निराशा केवल वर्तमान सरकारसँग जोडिएको विषय नभएको बताए। संविधान जारी भएयताको लामो राजनीतिक अभ्यास र शासन सञ्चालनको समीक्षा अब आवश्यक रहेको उनको भनाइ थियो।
उनले राजनीतिक दलहरूले जनताका प्रश्नको सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताए। ‘सबैतिर प्रश्न छन्, के हामीसँग ती प्रश्नको उत्तर दिने तागत छ ?’ भन्दै थापाले कांग्रेसले आफ्नो आगामी राजनीतिक दिशा जनताको आवश्यकता र परिणामसँग जोड्नुपर्ने बताए।
थापाले प्रधानमन्त्री र सरकार परिवर्तनको निरन्तर चक्रले विकास र जनसेवामा असर पारिरहेको बताए। उनले नेपालको प्रधानमन्त्री पदलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको टिप्पणी गर्दै नेतृत्वमा स्थायित्व नहुँदा जनताका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने धारणा राखे।
राजनीतिप्रतिको वितृष्णा बढ्नुमा राजनीतिक दलहरूको कार्यशैली पनि जिम्मेवार रहेको स्वीकार गर्दै उनले हरेक विषयलाई राजनीतिक स्वार्थको चस्माबाट हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। अत्यधिक राजनीतिकरणका कारण आमनागरिक दिक्क भएको उनको भनाइ थियो।
ठूला राजनीतिक दलहरूले विगतमा सत्ता सञ्चालन गर्दा जनताको अपेक्षाभन्दा शक्ति प्रयोगलाई प्राथमिकता दिएको आत्मसमीक्षा पनि थापाले गरे। कांग्रेस र एमालेसहितका दलले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनले बताए।
उनले सत्तापक्ष र प्रतिपक्षबीचको आरोप–प्रत्यारोपले मात्र देशका समस्या समाधान नहुने स्पष्ट पारे। सरकार परिवर्तन हुँदैमा सबै समस्या तत्काल समाधान हुन्छ भन्ने सोचबाट समेत मुक्त हुनुपर्ने उनको धारणा थियो।
थापाले बदलिँदो विश्व परिस्थिति, प्रविधि, अर्थतन्त्र र नागरिक अपेक्षालाई बुझेर कांग्रेसले आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्ने बताए। कांग्रेसको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई पार्टीलाई जनताको प्रश्नको जवाफ दिन सक्ने राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार लोकतन्त्रको उपलब्धिलाई जनताको जीवनसँग जोड्ने प्रमुख आधार ‘डेमोक्रेसी र डेलिभरी’बीचको दूरी घटाउनु हो। कांग्रेसले लोकतान्त्रिक मूल्य जोगाउँदै रोजगारी, उत्पादन, आर्थिक अवसर र जनसेवामा प्रत्यक्ष परिणाम दिन सक्ने पार्टी बन्नुपर्ने उनले बताए।
