२०८३, कार्तिक १० गते

Oct 26 2026

गगनलाई प्रचण्डको सन्देश : ‘सबैलाई समेटेर देशको नेतृत्वतर्फ अघि बढ्नुस्’

गगनलाई प्रचण्डको सन्देश : ‘सबैलाई समेटेर देशको नेतृत्वतर्फ अघि बढ्नुस्’

रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
रोज नेपाल
सोमवार, आश्विन १९ २०८३
  •  
    काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासामु पार्टीको नेतृत्वसँगै मुलुकको जिम्मेवारीसमेत बहन गर्ने अवसर आएको बताएका छन्।
    कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले थापाको राजनीतिक क्षमतामाथि आफूले यसअघि नै विश्वास व्यक्त गरेको स्मरण गरे। प्रधानमन्त्री रहँदा थापा स्वास्थ्य मन्त्रीका रूपमा आफ्नो मन्त्रिपरिषद्मा रहेको उल्लेख गर्दै उनले अहिले कांग्रेसको नेतृत्वमा पुग्नु राजनीतिक यात्राको महत्वपूर्ण चरण भएको बताए।
    प्रचण्डले कांग्रेसभित्र नेतृत्व परिवर्तनलाई ‘क्रमभंग’को संज्ञा दिँदै नयाँ नेतृत्वले विगतका अनुभवलाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभित्रको असन्तुष्टि र छुटेका नेता–समूहलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउन उनले थापालाई आग्रह गरे।
    उनले थापाको आगामी राजनीतिक यात्रामा आफ्नो सहयोग रहने स्पष्ट पार्दै पार्टी नेतृत्वबाट राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्न शुभकामना दिए।
    प्रचण्डले मुलुकको लोकतान्त्रिक गणतन्त्र अझै चुनौतीमुक्त नरहेको भन्दै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। राजनीतिक अस्थिरता र विभाजनले उपलब्धि कमजोर पार्न सक्ने भएकाले लोकतन्त्रको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
    शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउनुपर्ने विषयलाई पनि प्रचण्डले प्राथमिकताका साथ उठाए। संक्रमणकालीन न्यायसहित शान्ति सम्झौताका अधुरा काम समाधान हुन नसके मुलुकमा पुनः द्वन्द्वको जोखिम उत्पन्न हुन सक्ने उनको चेतावनी थियो।
    उनले नयाँ कांग्रेस नेतृत्वले शान्ति प्रक्रिया पूरा गर्ने, लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने तथा आर्थिक विकास र समृद्धिका लागि राजनीतिक शक्तिहरूबीच सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।
    प्रचण्डले देशको समृद्धिका लागि दलगत प्रतिस्पर्धाभन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै थापालाई सफल कार्यकालको शुभकामना दिए।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij