काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक संकट व्यक्तिको फेरबदलले मात्र समाधान नहुने बताएका छन्। उनले संविधान र शासन व्यवस्थामै सुधार आवश्यक रहेको धारणा राखेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले केही वर्षअघिको राजनीतिक नेतृत्व र अहिलेको अवस्थाबीच तुलना गर्दै नेतृत्व परिवर्तन भए पनि जनताको निराशा र मुलुकको समस्या उस्तै रहेको बताए।
उनले भने, ‘समस्या व्यक्तिमा मात्र खोजेर हुँदैन। हामीले उत्कृष्ट भनेर स्वीकार गरेको संविधान र व्यवस्थामै कमजोरी छन्।’ संविधान त्रुटिपूर्ण रहेको दाबी गर्दै उनले समयअनुकूल सुधारको विकल्प नरहेको बताए।
लिङ्देनले विगतको निषेधको राजनीतिले मुलुकलाई थप संकटमा पुर्याएको उल्लेख गर्दै अब राजनीतिक शक्तिहरूबीच सहकार्य र राष्ट्रिय सहमति आवश्यक रहेको बताए। राजा र राजनीतिक दलबीचको विगतको टकरावदेखि अहिले सामाजिक सञ्जालमार्फत हुने आक्रमणसम्मले समाजमा सहिष्णुता कमजोर बनाएको उनको भनाइ थियो।
देशलाई निकास दिन राजसंस्था पक्षधर शक्ति, राजनीतिक दल र नयाँ पुस्ताबीच संवाद र समझदारी आवश्यक रहेको उनले बताए। ‘देश बिग्रिँदा कसैको मात्र बिग्रिँदैन, हामी सबै प्रभावित हुन्छौँ,’ लिङ्देनले भने, ‘देश अहिले लिगबाहिर गएको छ। यसलाई सही बाटोमा फर्काउन नयाँ आधारमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ।’
कांग्रेसको महाधिवेशनले मुलुकको जटिल राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक लिएर आगामी दिशाबारे स्पष्ट मार्गनिर्देशन गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
