काठमाडौं । सरकारसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. डिल्ली हरिजनले पुनः आमरण अनशन सुरु गरेका छन्।
इन्टर्न तथा आवासीय चिकित्सकका विषयमा सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिँदै डा. हरिजनले भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमा अनशन थालेका हुन्।
सरकार र डा. हरिजनबीच यसअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिका विषयहरू कार्यान्वयन नभएको उनको भनाइ छ।
सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित पहल नभएपछि पुनः अनशन बस्नुपरेको बताइएको छ। डा. हरिजनले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।
यसअघि पनि उनले चिकित्सा शिक्षा तथा चिकित्सकका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन गरेका थिए। अहिले पुनः अनशन सुरु भएपछि सहमति कार्यान्वयन र चिकित्सकका माग सम्बोधनको विषय फेरि चर्चामा आएको छ।
