काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ गठन भएको छ ।
अभियान गठनबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत खनालले जानकारी दिएका हुन् ।
अभियानको बैठकले विभिन्न १५ बुँदे प्रस्ताव पारित गर्दै नेपालको वाम तथा कम्युनिस्ट आन्दोलनलाई वैचारिक र राजनीतिक आधारमा पुनर्गठन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
अभियानले विभिन्न समूहमा विभाजित वामपन्थी शक्तिबीच बृहत् वाम एकता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
राष्ट्रियता, सामाजिक–आर्थिक अवस्था र जनहितसँग सम्बन्धित साझा मुद्दामा वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उसको धारणा छ ।
त्यस्तै, विभिन्न कम्युनिस्ट तथा क्रान्तिकारी शक्तिलाई वैचारिक र राजनीतिक आधारमा एकीकृत गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरिएको छ ।
त्यसका लागि विगतको कम्युनिस्ट आन्दोलनका उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्दै संगठनात्मक पुनर्गठन तथा एकीकरणको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
अभियानले ठूला वामपन्थी पार्टीहरूभित्र वैचारिक बहस र राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको निष्कर्षसमेत निकालेको छ ।
नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहस गर्दै समाजवादी तथा क्रान्तिकारी शक्तिलाई नीति, सिद्धान्त, राजनीति र संगठनका विषयमा नीतिनिष्ठ बहसमा सहभागी हुन आग्रह गरिएको छ ।
नेता खनालले वर्तमान नेतृत्वबाट मात्रै वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने संकेत गर्दै ‘टाउको जोडेर’ मात्र वाम एकता सम्भव नहुने बताएका छन्।
स्पष्ट नीति, सिद्धान्त र वैचारिक–राजनीतिक दिशाका आधारमा मात्रै बृहत् वाम एकता सम्भव हुने उनको भनाइ छ ।
अभियानले तत्काल वाम आन्दोलनको वैचारिक पुनर्गठन र नयाँ राजनीतिक कार्यदिशा निर्माणलाई प्राथमिकता दिएको जनाएको छ ।
नेतृत्व र कार्यशैलीमा सुधार नआए अभियान आगामी दिनमा नयाँ राजनीतिक दल गठनको आधार बन्न सक्ने संकेतसमेत गरिएको छ ।
