काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व सम्हालेको २५ वर्ष पूरा भएको अवसरमा आफ्ना अनुभव र सिकाइबारे चर्चा गरेका छन् ।
सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री बनेका मोदीले २५ वर्षको राजनीतिक यात्रामा आफूले हरेक घटना, संकट र उपलब्धिबाट नयाँ पाठ सिकेको बताएका हुन् ।
देशभरका भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै उनले विरोध, असफलता र संकटले आफूलाई अझ बलियो बन्न प्रेरित गरेको बताए ।
उनका अनुसार चन्द्रयान अभियानले असफलतापछि पुनः उठ्न र कोरोना महामारीले सामूहिक चेतनाको महत्त्व बुझ्न सिकायो ।
मोदीले सीमित स्रोतसाधन भए पनि सपना ठूलो र मनोबल उच्च हुनुपर्नेमा जोड दिए । उनले आफ्नो यात्रामा प्राप्त उपलब्धिले अझ ठूला लक्ष्य हासिल गर्ने प्रेरणा दिएको बताए ।
मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेका हुन् । उनी लगातार तीन कार्यकालदेखि प्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।
यस अवसरमा उनले नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चनासमेत गरेका थिए ।
