काठमाडौं । पर्साको ठोरीबाट बिरामी लिएर चितवनतर्फ जाँदै गरेको एम्बुलेन्स खोलामा आएको बाढीले बगाएको छ ।
ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर माडी हुँदै चितवनतर्फ आउँदै गरेको एम्बुलेन्सलाई बुधबार बिहान बगहीको सहायक खोलामा आएको भेलले बगाएको हो ।
माडी क्षेत्रमा बिहानैदेखि परेको भारी वर्षाका कारण खोलामा पानीको बहाव अचानक बढेको गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलामा आएको बाढीले एम्बुलेन्स बगाए पनि त्यसमा रहेका तीनै जना सकुशल रहेको उनले बताइन् ।
भारी वर्षापछि माडी क्षेत्रमा रहेका खोला तथा सहायक नदीमा पानीको सतह बढेको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले बाढी र डुबानको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन् ।
