काठमाडौं । सरकारले आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ।
एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो।