२०८३, आश्विन २ गते

Sep 18 2026

पहिरोका कारण कोशी र अरनिको राजमार्ग अवरुद्ध

पहिरोका कारण कोशी र अरनिको राजमार्ग अवरुद्ध

रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ । दिनानुदिनको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो गएर  यातायात सेवा अवरुद्ध  भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म  बागमती, कोशी र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा ठप्प भएका छन्।

    कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा गत वैशाख १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो राजमार्ग ठप्प भएको हो। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोबाट  एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ।

    सिन्धुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारी स्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बैशाख १६ गते साँझ ६:३० बजे गएको पहिरोले सडक अवरुद्ध भएपछि चीनसँगको नाका जोड्ने यो सडक खण्डमा सवारी आवागमन बन्द भएको छ।

    म्याग्दीमा पनि पहिरोले सडक प्रभावित पारेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा बैशाख १६ गते साँझ पहिरो जाँदा बेनी(जोमसोम सडकखण्ड प्रभावित भएको छ। हाल उक्त स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी साधन सुचारु गरिएको छ।

    सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij