२०८३, आश्विन १ गते

Sep 17 2026

नारायणीमा पानिको सतह बढ्न थाल्यो, सिग्नेचर पुलको संरचना निर्माण अझै लथालिङ्ग

नारायणीमा पानिको सतह बढ्न थाल्यो, सिग्नेचर पुलको संरचना निर्माण अझै लथालिङ्ग

रोज नेपाल
आइतवार, बैशाख २० २०८३
रोज नेपाल
आइतवार, बैशाख २० २०८३
  • चितवन — वैशाख महिनामै मनसुन सुरु भए लगत्तै नारायणी नदीको सतह बढ्न थालेको छ ।  चितवनको नारायणगढ र नवलपुरको गैंडाकोटलाई जोड्ने नारायणी नदीमाथि निर्माण हुन लागेको सिग्नेचर पुलले पूर्णता कहिले पाउँछ भन्ने प्रश्न पनि उठिरहेको छ । पुल निर्माणमा देखिने गरी भौतिक प्रगति हालसम्म नभएको पुल निर्माणमा संलग्न अधिकारी नै बताउँछन् । 

    नदी किनारमा ठूला ठूला मेसिन औजारहरू छन् । मेसिनले खन्दै गरेको र कामदारले रड बुन्दै गरेको दृश्य देखिन्छ । नारायणी धमिलो भएको छ । पानीको तह बढ्न सुरु गरेको छ । तर संरचना निर्माणको काम अझै सुरु भएको छैन।

     पुष्पकमल दाहालले आफ्नो सरकार हुँदा दुई वर्षअघि वैशाख २०८१ मा मन्त्रीसमेत ल्याएर पुलको शिलान्यास गरेका थिए । त्यति बेला पनि पुलको डिजाइनसम्बन्धी काम बाँकी नै थियो । पुलको डिजाइन स्वीकृति गएको १८ कात्तिकमा भएको हो । त्यसपछि पुल निर्माणका लागि फिल्डमा कामदार र मेसिन औजार तैनाथ भएका थिए ।

    पुलको पिल्लरको भारवहन क्षमतासम्बन्धी परीक्षण यसबीचमा भएका छन् । फिल्डमै गर्नुपर्ने परीक्षणका काम पूरा भए । अब संरचना निर्माणका काम अगाडि बढ्छ,’ यो पुल निर्माण हेर्ने भरतपुरको डिभिजन सडक कार्यालयका साइट इन्जिनियर सन्तोष भण्डारीले भने । पुलको दुईतर्फ मुख्य टावर रहनेछन् । ‘अबटमेन्ट’ (पुल सुरु हुने र अन्त्य हुने ठाउँ) को सय मिटरको फरकमा टावर रहनेछन् ।

    अहिले ‘अबटमेन्ट’ बन्ने कंक्रिटको संरचना निर्माणको काम भइरहेको छ । नारायणगढतर्फ रहेको ‘अबटमेन्ट’ र त्यसदेखि सय मिटर पर रहने मुख्य टावरको जगको काम भइरहेको निर्माण पक्षले जनाएको छ । दुई वटा टावरको बीचको दूरी २२० मिटर रहनेछ । पुलको कुल लम्बाइ ४ सय २० मिटर हुनेछ । यो पुल जल यातायात सञ्चालन गर्न मिल्ने गरेर बनाइँदै छ । 

    गैंडाकोटतर्फको ‘अबटमेन्ट’को काम पनि यही आर्थिक वर्षमा सुरु गर्ने निर्माण पक्षको योजना छ । चार वर्षमा काम सक्ने गरेर पुल निर्माणका लागि ९ जेठ २०८० मा निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तुँदीसँग पुलको डिजाइनसहितको सम्झौता भएको हो । एक वर्षभित्र डिजाइन तयार र स्वीकृत गरेर बाँकी तीन वर्षमा निर्माण सक्ने सम्झौता थियो ।

    तर पुलको डिजाइन गत १८ कात्तिकमा मात्रै स्वीकृत भएको छ । सम्झौताअनुसार यो काम वैशाख–जेठ २०८१ मै पूरा हुनुपर्ने थियो । पुलको डिजाइन सक्नै डेढ वर्ष ढिला भएको छ । ‘अहिले देखिने भौतिक प्रगति नभए पनि विभिन्न काम भइरहेका छन् । बजेट प्रगति सात–आठ प्रतिशत भएको छ,’ तुँदीको प्रोजेक्ट म्यानेजर मन्जिल मिश्रले भने । 

    पुलको कुल लागत एक अर्ब ६८ करोड रुपैयाँ छ । हाल लगभग डेढ सय कामदारले पिल्लरका लागि रड बुन्ने काम गरिरहेको मिश्रले बताए । नारायणगढ र गैंडाकोटतर्फ दुई/दुई वटा गरेर चार वटा एस्काभेटर, ६० टनको एउटा क्रेनसँगै अन्य तीन वटा ठूला मेसिन फिल्डमा काम गर्न खटिएको मिश्रले जनाए । पछिल्लो समय अवस्था अनुकूल नरहे पनि आफूहरूले काम नरोकेको उनको भनाइ छ । ‘रड छडदेखि इन्धनसम्म महँगो भयो । कताको भाउ कता पुग्यो । भनेको बेलामा सामान पाइँदैन । फेरि प्रि–मनसुन पनि छिट्टो सुरु भएका कारण काम गर्न सहज छैन । तर काम जारी नै राखेका छौं,’ मिश्रले भने । पूर्व–पश्चिम राजमार्गको कर्णाली चिसापानीमा रहेको पुलमा एउटा मात्रै टावर र केवल छ । त्यसपछि दुई वटा टावर र केबल राखेर नेपालमा बन्न लागेको यो नै पहिलो पुल हो ।

    हुन त यसलाई सिग्नेचर ब्रिज पनि भन्न सुरु गरेका छन् । तर यो आइकोनिक ब्रिज हो,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मिश्रले भने । नारायणगढको नारायणी नदीमा बनेको हालको पुलको शिलान्यास २०३८ सालमा भएको थियो । झन्डै चार वर्ष लगाएर बनेको त्यो पुल पुरानो र साँघुरो हुँदै गएको छ ।

    पुरानो पुलकै आडमा नयाँ पुल बन्न लागेको हो । पूर्व–पश्चिम राजमार्ग पहिलाको तुलनामा फराकिलो बनेको छ । पुरानो पुल सडकअनुसार चौडा नहुँदा गाडी वारपार हुन गाह्रो हुने गरेको छ । पुरानो पुलको विकल्पमा छिटोछिटो नयाँ पुल बनाउनुपर्ने दबाब छ । तर चार वर्षभित्र काम सक्ने भनेर सम्झौता भएको तीन वर्ष बित्न लाग्दै गर्दा पुलको जगको कामले पनि पूर्णता पाउन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij