काभ्रे। बैशाख १७ गते बसेको कार्यपालिका बैठकले साविकको पनौती नगरपालिका भित्री क्षेत्रको कुनै पनि संरचना नबदल्ने निर्णय सार्वजनिक गरेको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस निर्णय नगर सभामा प्रस्तुत हुनेछ । नगर सभाको दुई तिहाई मतले संरचना बदल्ने निर्णय गरेको अवस्थामा बाहेक परिवर्तन हुन नसक्ने कानूनी र संवैद्यानिक ब्यवस्था छ । पनौती नगरपालिकाको कार्यपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका प्रतिनिधिहरु विजयी भएका थिए । कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । अघिल्लो कार्यकालमा साविक पनौती १ लाई दुईवटा बनाउने निर्णय पनि यो पटक हुन सकेन । साविकका १२ वटा वडालाई यताउति केहि नगर्ने र उप–महानगर तथा महानगरपालिका बनाउने प्रस्तावमा पनि सहमति नहुने निर्णय गरेको छ ।
जिल्लाका धुलिखेल, पनौती र बनेपा नगरपालिका सहित बेथान्चोक गाउँपालिकालाई समेटेर उप–महानगरपालिका बनाउने विषयमा छलफल शुरु भएको थियो । पनौतीले उक्त निर्णयले यो प्रस्ताव त्यतिकै सेलाउने अवस्थामा पुगेको छ । बनेपाले पनि अघिल्लो कार्यकालमा छुट्टै रहने निर्णय गरेको थियो । त्यतिबेला लक्ष्मीनरसिं बादे नगर प्रमुख थिए । धुलिखेलमा अघिल्लो कार्यकालमा तीन वटा नगर सहित एकीकरण गर्ने प्रस्ताव नगर सभाले पास गरेको थियो । धुलिखेलमा अशोक ब्याञ्जु नगर प्रमुख हुँदा सर्वसम्वतले पास गरिएको निर्णय अन्य पालिकाहरुले सहमत नजनाएका कारण अघि बढ्न सकेको थिएन ।
यो पटक खानीखोला र महाभारत, रोशी, तेमाल र नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर, भुम्लु र चौरीदेउराली, बनेपा, पनौती, धुलिखेल र बेथान्चोक गाउँपालिकालाई एकीकरण गर्ने गरी छलफल शुरु भएको थियो । सरकारले स्थानीय तहको पुर्नंसरचनाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरी परिपत्र गरेको थियो ।
