काभ्रेको धुलिखेल–खावा सडक खण्डमा हालै गरिएको नयाँ पिच नटिक्दै भत्किन थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। निर्माण सम्पन्न नभई छोटो समयमै सडकको सतह उखेलिनु, खाल्डाखुल्डी देखिनु र गुणस्तरहीन कामको संकेत देखिनुले सरोकारवाला निकायप्रति जनविश्वास घटेको छ।
अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्दा मापदण्डअनुसार काम नभएको आशंका स्थानीयले व्यक्त गरेका छन्। “नयाँ बनाएको सडक यति छिटो बिग्रिनु खाल्टा पर्नु भनेको स्पष्ट रूपमा लापरबाही हो,” एक स्थानीयले बताए।
यस घटनाले प्राविधिक अनुगमन, निर्माण कम्पनीको जिम्मेवारी र राज्यको खर्चप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयले तुरुन्त प्राविधिक अध्ययन गरी दोषीमाथि कारबाही गर्न र दीर्घकालीन समाधानसहित सडक पुनःनिर्माण गर्न माग गरेका छन्।
यदि यस्तै लापरबाही दोहोरिँदै जाने हो भने विकासका नाममा खर्चिएको बजेट बालुवामा पानी खन्याएजस्तै हुने भन्दै सरोकारवालाले चेतावनी दिएका छन्।