काभ्रे / धुलिखेल २०८३ चैत १९ गते बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा एसईई० २०८२ को परीक्षाफल प्रकाशन भएको छ । प्रारम्भिक नतिजाका आधारमा जिल्लाका ८ विद्यालयबाट ११ विद्यार्थीहरुले चार जिपिए प्राप्त गरेका छन् भने अधिकांशले ३।९६ जिपिए प्राप्त गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको सामुदायीक विद्यालय बनेपा नाला ४ बाट चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका दुईजना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् ।
नीजि अर्थात संस्थागत तर्फ बनेपाको विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालय बनेपाबाट एक जना, पनौतीको नवरत्न अंग्रेजी माध्यमिक विद्यालयबाट एक जना, पाँचखालको नवप्रतिभा माध्यमिक विद्यालयबाट एक जना, बनेपा साँगाको नेपाल प्रहरी स्कुलबाट एक जना, श्रीखण्डपुरको एसओएस बालग्रामबाट दुई जना, मल्पी इन्टरनेशनल पनौतीबाट एक जना र बनेपाको सिद्धार्थ एकेडेमीबाट दुई जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । यद्यपी शिक्षा विकास समन्वय इकाईले जिल्लाको परिक्षाफलको विवरण तयार गरिरहेको छ ।
जिल्लामा ३३ वटा परीक्षा केन्द्र मार्फत विद्यार्थीहरुले परीक्षा दिएका थिए । परीक्षामा जिल्लाका ६९ वटा संस्थागत र १५० वटा सामुदायिक विद्यालय गरी कुल २१९ वटा विद्यालयबाट ६ हजार २ सय ८ जना विद्यार्थीहरू सहभागी थिए । नियमिततर्फ ५,२२७ जना, प्राविधिकतर्फ २०१ जना र ग्रेडवृद्धितर्फ २८० जना गरी कुल ६,२०८ जना विद्यार्थी परीक्षामा सहभागी थिए । १२ जना बहिरा विद्यार्थी र एक जना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी थिए । करिव एक सय विद्यार्थी परिक्षामा अनुपस्थित भएका थिए ।