श्रमिकका दुःख भोगेका चानक पोखरेल प्रवासी नेपाली मञ्चको अध्यक्ष दौडमा, अनुभवलाई नेतृत्व र अधिकारको अभियानमा बदल्ने प्रतिबद्धता
काठमाडौं । विदेशमा नेपाली श्रमिकले भोग्ने पीडा, श्रम शोषण र अधिकारविहीनताको अवस्था चानक पोखरेलका लागि कुनै सैद्धान्तिक बहसका विषय होइनन्। खाडी मुलुकमा २९ वर्ष बिताउँदा उनले यी समस्या आफैंले भोगेका छन्, नजिकबाट नियालेका छन् र प्रवासी नेपालीको संगठनात्मक अभियानमा समेत आफूलाई सक्रिय बनाएका छन्। अहिले त्यही लामो अनुभवलाई संगठनको नेतृत्वमा रूपान्तरण गर्ने लक्ष्यसहित उनी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पोखरेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदाकांक्षाभन्दा प्रवासी नेपालीका मुद्दा संस्थागत रूपमा उठाउने र संगठनलाई परिणाममुखी बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
उनको नेतृत्व दाबीको मुख्य आधार हो– प्रवासको २९ वर्षे अनुभव, श्रमिकका समस्यासँगको प्रत्यक्ष साक्षात्कार र संगठनभित्रको जिम्मेवारी। खाडीमा काम गर्ने नेपालीले भोग्ने न्यून पारिश्रमिक, श्रम शोषण, रोजगारीको असुरक्षा, सामाजिक सुरक्षाको अभाव, कानुनी जटिलता तथा सम्मानजनक श्रम वातावरणको अभावलाई उनले नेतृत्वको प्राथमिकतामा राखेका छन्।
पोखरेलको भनाइमा विदेशमा पसिना बगाउने नेपालीको आवाज संगठनको मूल आवाज बन्नुपर्छ। श्रमिकका समस्या व्यक्तिगत पीडा वा गुनासोमा सीमित राखेर हुँदैन, तिनलाई नीतिगत र संस्थागत मुद्दाका रूपमा उठाउनुपर्छ। रोजगारदाता, सम्बन्धित सरकार र नेपाली राज्यका निकायसँग प्रभावकारी संवाद तथा पहलमार्फत श्रमिकको अधिकार र सम्मान सुनिश्चित गर्न संगठनले अग्रसरता लिनुपर्ने उनको धारणा छ।
श्रमिकको आवाजदेखि नागरिकताको निरन्तरतासम्म
पोखरेलको एजेन्डा वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यामा मात्र सीमित छैन। विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको पहिचान, नागरिकता, राजनीतिक तथा सामाजिक अधिकार र मातृभूमिसँगको सम्बन्धलाई पनि उनले नेतृत्वको प्रमुख कार्यसूचीमा राखेका छन्।
विशेषगरी वंशजको नागरिकताको निरन्तरता उनको प्राथमिकतामा छ। विदेशमा जन्मिएका नेपालीका सन्तानको पहिचान र अधिकार संरक्षण, नागरिकतासम्बन्धी कानुनी तथा व्यवहारिक समस्या समाधान र प्रवासी नेपालीको अधिकार सुनिश्चित गर्न राज्यसँग प्रभावकारी पहल गर्ने उनको प्रतिबद्धता छ।
उनले विश्वभर छरिएर रहेका करिब २२ लाख प्रवासी नेपालीका साझा सवाललाई संगठनको केन्द्रीय मुद्दा बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। प्रवासी नेपाली मञ्चलाई राजनीतिक आबद्धतामा मात्र सीमित नराखी श्रमिक, व्यवसायी, पेशाकर्मी, विद्यार्थी र नयाँ पुस्ताका नेपालीको साझा सरोकार सम्बोधन गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उनको लक्ष्य छ।
विदेशमा रहेका नेपालीको भूमिका पनि पछिल्लो समय बदलिँदै गएको छ। श्रमका लागि विदेशिएका नागरिकसँगै व्यवसाय, शिक्षा, स्वास्थ्य, प्रविधि, अनुसन्धान र विभिन्न व्यावसायिक क्षेत्रमा स्थापित नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने पोखरेलको जोड छ। त्यसका लागि प्रवासी नेपाली र राज्यबीच बलियो संस्थागत सम्बन्ध आवश्यक रहेको उनको बुझाइ छ।
संगठनलाई पहुँचभन्दा परिणामसँग जोड्ने योजना
अध्यक्षका दाबेदार पोखरेलले संगठन सुदृढीकरणलाई अर्को महत्वपूर्ण एजेन्डा बनाएका छन्। विभिन्न देशमा फैलिएको मञ्चलाई एकताबद्ध, अनुशासित, व्यवस्थित र क्रियाशील बनाउँदै नेतृत्व तथा सदस्यबीचको दूरी घटाउने उनको प्रतिबद्धता छ।
संगठनको संरचना विस्तार गर्नु मात्रै पर्याप्त नहुने भन्दै उनले प्रवासी नेपालीका वास्तविक समस्या पहिचान गर्ने, सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्ने कार्यशैली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीमा सचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेलले संगठनका विभिन्न तहमा काम गरेको अनुभवलाई पनि आफ्नो नेतृत्व दाबीको आधार बनाएका छन्। उनका लागि अहिलेको प्रतिस्पर्धा लामो समयको प्रवासी जीवनबाट प्राप्त अनुभवलाई सामूहिक हितमा प्रयोग गर्ने अवसर हो।
उनले आफ्नो अभियानलाई ‘अनुभवबाट नेतृत्व, प्रतिबद्धताबाट परिवर्तन’ भन्ने अवधारणासँग जोड्दै श्रमिकको पीडा बुझ्ने, अधिकारका पक्षमा दृढतापूर्वक उभिने र संगठनलाई परिणाममुखी बनाउने नेतृत्व आवश्यक रहेको बताएका छन्।
प्रभुराम थापासँग प्रतिस्पर्धा, प्रतिनिधिको मत निर्णायक
यसपटक अध्यक्ष पदका लागि अमेरिकाबाट प्रभुराम थापाले पनि उम्मेदवारी घोषणा गरेका छन्। संगठनमा लामो समयदेखि सक्रिय थापाले संस्थागत पारदर्शिता, संगठन सुदृढीकरण, श्रमिक अधिकार, वंशजको नागरिकताको निरन्तरता, प्रवासी नेपालीको मतदान अधिकार र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेका छन्।
त्यसैगरी प्रवासमा आर्जित ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा परिचालन गर्ने विषयलाई पनि उनले आफ्नो एजेन्डामा समेटेका छन्।
यसले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई दुई व्यक्तिबीचको प्रतिस्पर्धामा मात्र सीमित नराखी संगठनको भावी कार्यदिशा, प्राथमिकता र नेतृत्व शैलीबारेको बहसका रूपमा समेत अघि सारेको छ। एकातिर मध्यपूर्वमा लामो समय श्रमिक जीवन र संगठनात्मक गतिविधिसँग जोडिएका पोखरेल छन् भने अर्कातिर अमेरिकामा संगठन निर्माणको अनुभव बोकेका थापा प्रतिस्पर्धामा छन्।
अधिवेशनमा कुल ३३७ प्रतिनिधि सहभागी हुने र उनीहरूकै मतदानबाट नयाँ नेतृत्व चयन हुने तयारी छ। त्यसैले दुवै उम्मेदवारले आफ्ना एजेन्डा र प्रतिबद्धतासहित प्रतिनिधिहरूको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
२९ वर्षको अनुभवको परीक्षा
पोखरेलका लागि यो प्रतिस्पर्धा एउटा पद प्राप्तिको प्रयास मात्र होइन, प्रवासमा बिताएको झन्डै तीन दशकको अनुभवलाई संगठनात्मक नेतृत्वमा बदल्ने परीक्षा पनि हो। उनले उठाएका श्रमिक अधिकार, नागरिकताको निरन्तरता, प्रवासी नेपालीको पहिचान र संगठनात्मक सुधारका मुद्दा प्रवासमा रहेका नेपालीका साझा सरोकारसँग जोडिएका छन्।
तर अनुभव र प्रतिबद्धता मात्र नेतृत्वको सफलता मापन गर्ने पर्याप्त आधार होइनन्। ती एजेन्डालाई नीतिगत पहल, संस्थागत निर्णय र व्यवहारिक परिणाममा रूपान्तरण गर्न सक्ने क्षमता नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ।
अब त्यो अवसर कसले पाउने भन्ने निर्णय ३३७ प्रतिनिधिको मतले गर्नेछ। उनीहरूले अध्यक्ष मात्र चयन गर्ने छैनन्, आगामी चार वर्षका लागि प्रवासी नेपाली मञ्चको प्राथमिकता, कार्यशैली र राजनीतिक तथा सामाजिक भूमिकाको दिशासमेत निर्धारण गर्नेछन्।
२९ वर्ष खाडीमा पसिना बगाएका पोखरेल अहिले त्यही अनुभवलाई नेतृत्वको पूँजी बनाएर प्रतिनिधिसमक्ष पुगेका छन्। उनको दाबी छ– प्रवासी नेपालीको आवाज सुन्ने मात्र होइन, त्यसलाई अधिकार र परिणाममा बदल्ने संगठन निर्माण गर्नुपर्छ।
