राजन थापा
काठमाडौं / स्वास्थ्य सेवा केवल रोगको उपचारमा सीमित हुँदैन, यसले मानिसको जीवनमा आशा, आत्मविश्वास र मुस्कान पनि फर्काउँछ। यही मान्यतालाई आत्मसात् गर्दै ॐ समाज डेन्टल अस्पतालले आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ। चाबहिलस्थित ॐ समाज डेन्टल अस्पतालको परिसरमा केही दिनभित्रै म्याक्सिलोफेसियल अस्पताल सञ्चालनमा आउने तयारी भइरहेको छ।
नयाँ अस्पताल सञ्चालनमा आएसँगै मुख, बंगारा तथा अनुहारसम्बन्धी जटिल स्वास्थ्य समस्याको उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ। मुख तथा अनुहार शल्य चिकित्सक (Oral and Maxillofacial Surgeon) डा. सुवास घिमिरेको नेतृत्वमा अघि बढिरहेको यो अभियान दन्त उपचारमा मात्र सीमित छैन। मुख तथा अनुहारसँग सम्बन्धित जटिल समस्याको उपचार, शल्यक्रिया र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य यसले बोकेको छ। डा. घिमिरेले आफ्नो चिकित्सकीय यात्रामा सयौँ जटिल शल्यक्रिया सम्पन्न गर्नुका साथै हजारौँ बिरामीको विश्वास प्राप्त गर्नुभएको अस्पतालको परिचयमा उल्लेख छ।
उहाँका लागि चिकित्सा पेसा केवल व्यावसायिक जिम्मेवारी नभई मानवीय सेवाको माध्यमसमेत हो। डा. घिमिरेको सेवाप्रतिको भावना छ, "बिरामीको अनुहारमा हराएको मुस्कान फर्काउन सक्नु नै चिकित्सकका लागि सबैभन्दा ठूलो सन्तुष्टि हो।
आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस्। बिरामीको पीडा कम गर्नु र उनीहरूको विश्वास जित्नु नै हाम्रो सेवाको वास्तविक उपलब्धि हो।" स्वास्थ्य उपचारलाई आर्थिक अवस्थाका आधारमा सीमित गर्न नहुने मान्यता राख्दै ॐ समाज डेन्टल अस्पतालले सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्याउने लक्ष्य लिएको छ।
चाबहिलमा सञ्चालनको तयारीमा रहेको म्याक्सिलोफेसियल अस्पतालले काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका बिरामीलाई समेत मुख तथा अनुहारसम्बन्धी विशेषज्ञ उपचारका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
चिकित्सा क्षेत्रमा प्रविधि र दक्षता जति आवश्यक छन्, त्यति नै आवश्यक मानवीय संवेदना पनि छ। यही संवेदनालाई सेवाको आधार बनाउँदै डा. घिमिरेको नेतृत्वमा अघि बढिरहेको नयाँ स्वास्थ्य सेवा विस्तारले स्वास्थ्य क्षेत्रमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
सेवा, समर्पण र बिरामीको विश्वासलाई प्राथमिकतामा राख्दै ॐ समाज डेन्टल अस्पताल नयाँ स्वास्थ्य सेवाको अध्यायतर्फ अघि बढिरहेको छ।
