“सबैको जीवन, सबैको सम्मान, सबैको सुरक्षा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा ‘मेची-महाकाली १०८ दिने अहिंसा पदयात्रा तथा विश्व शान्ति हस्ताक्षर अभियान’ औपचारिक रूपमा सुरु भएको छ। विश्व शान्ति, मानव एकता, अहिंसा, सद्भाव र करुणाको सन्देश बोकेको यस बृहत् अभियानले मुलुकभर सकारात्मक ऊर्जा र शान्तिको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको अभियानका संयाेजक राज भक्त योङ्या(मिधुङ मिराक) ले बताए ।
विश्व शान्ति मानव एकता महान अभियानको आयोजनामा सञ्चालित यो पदयात्रा २०८३ साल कार्तिक १३ गतेदेखि २०८३ साल फागुन ३ गतेसम्म जम्मा १०८ दिनसम्म सञ्चालन हुनेछ। देशको पूर्वी सीमा मेची पुलबाट आरम्भ भएको यो ऐतिहासिक पदयात्रा विभिन्न सहर, बस्ती र भूभागहरू हुँदै सुदूरपश्चिमको महाकाली पुल पुगेर समापन हुने कार्यक्रम रहेको छ।
यस अभियानको मुख्य उद्देश्य समाजमा विद्यमान सबै प्रकारका हिंसा, विभेद र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण सहअस्तित्व र मानव एकता कायम गर्नु हो। पदयात्राका क्रममा देशैभर विश्व शान्तिका लागि बृहत् हस्ताक्षर अभियान समेत सञ्चालन गरिनेछ। “एउटा हस्ताक्षर गरौँ, ताकि भोलि कुनै आमाले आफ्नो सन्तानको लास सम्हाल्न नपरोस् र कुनै बालकले बमको आवाजमा होइन आमाको लोरीमा निदाउन पाओस्” भन्ने गहिरो मानवीय भावनाका साथ यो हस्ताक्षर सङ्कलन गर्न लागिएको हो।
अभियानले धार्मिक सहिष्णुता, भाइचारा र प्राकृतिक पर्यावरणको संरक्षणमा समेत विशेष जोड दिएको छ। “सृष्टि, प्रकृति, चराचर जगत तथा सकल प्राणीको रक्षा गर्नु नै मानवताको सर्वोच्च धर्म हो” भन्ने मान्यतालाई आत्मसात गर्दै अभियानमा भगवान फाल्गुनन्द, जीवित देवी, गोराक्षानाथ, राष्ट्रिय गुरु योगी नरहरिनाथ, भगवान शंकराचार्य स्वामी अविचलानन्द गिरीजी महाराज, प्रथम महिला शंकराचार्य जगद्गुरु हेमानन्द गिरीजी महाराज तथा भगवान गौतम बुद्धका अमर उपदेशहरूलाई प्रेरणाका रूपमा समेटिएको संयाेजक । योङ्याले बताए ।
“मेचीबाट उठेको शान्ति-आवाज महाकालीसम्म पुऱ्याऔँ, हिंसाको अन्त्य गरौँ र मानवताको हातेमालो गरौँ” भन्दै आयोजक संस्था ‘विश्व शान्ति मानव एकता महान अभियान’ ले सम्पूर्ण नागरिक समाज, युवा तथा देशवासीहरूलाई यस अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरेको छ। यस महाअभियानले नेपाली समाजमा आपसी सद्भाव र अहिंसाको भावनालाई थप मजबुत बनाउने विश्वास लिइएको अभियानमा संलग्न चन्द्र सेलिङले बताए ।
