पाँचथर::बर्डफ्लु रोग नियन्त्रण समिति पाँचथरले बर्डफ्लु रोगको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
समितिले सार्वजनिक सूचना जारी गर्दै कुखुरा, चल्ला अण्डा तथा पक्षीजन्य बस्तुको ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाएको हो ।
समिति सदस्य सचिव तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमूख रामनारायण साहका अनुसार संक्रमित क्षेत्रबाट पक्षी र पक्षीजन्य उत्पादनको ओसारपसार पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो ।
अन्य क्षेत्रबाट समेत पक्षीजन्य सामग्री ल्याउँदा जैविक सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र उत्पादनस्थल, गन्तव्य, ढुवानी साधन तथा परिमाणसम्बन्धी सम्पूर्ण विवरण सम्बन्धित निकायलाई जानकारी गराएर मात्रै ढुवानी गर्नुपर्ने भनिएको छ ।
उहाँका अनुसार कुखुरा व्यवसायी तथा फार्म सञ्चालकलाई फार्म परिसरमा अनावश्यक व्यक्ति र सवारी साधन प्रवेशमा रोक लगाउन, प्रवेशद्वारमा निःसंक्रमणको व्यवस्था गर्न तथा जैविक सुरक्षा विधि अनिवार्य रूपमा अपनाउन निर्देशन दिइएको छ । एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा प्रवेश गर्दा विशेष सावधानी अपनाउन भनिएको छ ।
त्यस्तै, फार्ममा प्रयोग भएका अण्डा राख्ने ट्रे पुनः प्रयोग नगर्न, फार्मभित्र प्रवेश गर्दा चुना राखिएको फुटबाथ प्रयोग गर्न तथा खोरमा प्रवेशअघि र बाहिरिँदा अनिवार्य रूपमा निःसंक्रमण गर्न आग्रह गरिएको छ ।
त्यसै गरि फार्म परिसरमा कुकुर, बिरालो, मुसालगायत अन्य पशुपन्छी प्रवेश हुन नदिने व्यवस्था मिलाउन तथा मरेका पक्षीलाई सुरक्षित रूपमा गाड्न पनि निर्देशन दिएको छ ।
फार्ममा कार्यरत व्यक्तिलाई व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग गर्न, नियमित हात धुन र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यस्तै, अकस्मात ठूलो संख्यामा पक्षी मर्ने, बिरामी पर्ने वा बर्डफ्लुसँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल नजिकको पशुपन्छी सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन समितिले अनुरोध गरेको छ ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिका संयोजक तथा प्रमूख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा बसेको वैठकले यस्ता निर्णय गरेको हो ।