२०८३, आश्विन १ गते

Sep 17 2026

महेश प्रसाईकृत ‘इब्राहिमको घोडा र बिकिनीहरू’ कृतिको विमोचन

महेश प्रसाईकृत ‘इब्राहिमको घोडा र बिकिनीहरू’ कृतिको विमोचन

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौ । बहुआयामिक साहित्यकार महेश प्रसाईको लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’ को एक विशेष समारोहबीच ज्येष्ठ तीन गते राजधानीमा लोकार्पण गरियो ।

    कृति सार्वजनीकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले महेश प्रसाई सशक्त कवि मात्र नभई एक विशिष्ट कथाकारसमेत भएको ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रहले पुष्टि गरेको बताए । प्रसाई नेपाल र सिक्किमको साहित्य-सेतु भएको पनि उप्रेतीले खुलासा गरे । प्रसाईका हरेक विधा विचारोत्तेजक हुने भन्दै उप्रेतीले प्रसाईको मुक्तकण्ठले सराहना गरे । लघुकथाको सौन्दर्यशास्त्रीय व्याख्यामा आधारित भएर प्रसाईले लघुकथा सिर्जना गरेको उप्रेतीको स्पष्टोक्ति थियो  ।

    समारोहका प्रमुख वक्ता गोपी मैनालीले महेशको शिल्प आख्यानको जस्तो र भाव भने कविता जस्तो रहेको भन्दै रहर र हुटहुटीमा लेख्नेहरूको जमातबीच महेश प्रसाई साधना गरी लेख्ने साधक भएको ठोकुवा गरे । उनी त्रासदीका नायक मात्र नभई ईश्वर बल्लभझैँ लाग्ने, पढेपछि एउटा कुतूहल छोड्ने, प्रश्न उब्जाइदिने एउटा अनुकरणीय लेखक भएको मैनालीको जिकिर थियो । एउटा पुस्तकमा यतिधेरै विषय उठान अत्यन्त कम लेखकबाट मात्र सम्भव हुने दाबी गर्दै छनोट र ग्रहण गर्ने, सुषुप्त चेतना सतहमा ल्याउने ताकत भएका बिरलाकोटी स्रष्टामध्ये प्रसाई एक भएको मैनालीको कथन थियो । मजबुन आख्यानीकरण नै लघुकथा हुने भन्दै आकार र आकृतिले मात्रि लघुकथा बन्न नसक्ने मैनालीको दाबी थियो । आफूले भोगेका कुराले पाठकको दिमाग बिथोल्ने बन्यो भने बल्ल प्रभावकारी लघुकथा मानिने मैनालीले बताए । कथामा निबन्धकारिता र निबन्धमा काव्यकारिता प्रसाईको विशेषता भएको मैनालीको कथन थियो ।

    कृतिकार महेश प्रसाईले समारोहमा उपस्थित अधिकांशको नाम लिएरै आभार अभिव्यक्त गर्दै गोपी मैनालीलाई ओजपूर्ण भूमिका लेखेकोमा विशेष आभार व्यक्त गरे । खासगरी मनमिल्दा साथीहरूसित एक छाक सँगै खाना खाने संयोग मिलाउन यो कार्यक्रम आयोजना गरेको प्रस्ट्याए । यदि समाजमा गोपी मैनाली, विनोद मन्जन, हरिप्रसाद सिलवाल भएनन् भने गुणस्तरीय सिर्जनाको मूल सुक्ने प्रसाईले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij