काभ्रे् प्रतिनिधि सभा क्षेत्र नम्वर १ का रास्वपा सांसद मधुकुमार चौलागाईले विपी राजमार्गको चौकीडाँडा खण्डका सन्दर्भमा दिएको अभिब्यक्ति विवादित बनेको छ । उनले दिएको अभिब्यक्तिलाई लिएर स्थानीय सरकार, राजनीतिक दलका नेता तथा कार्यकर्ता र नागरिकहरु आक्रोशित भएका छन् । तत्काल उनलाई अभिब्यक्ति फिर्ता लिन र माफी माग्न सामाजिक सञ्चालमा चर्को दबाब सिर्जना गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष राजन भुर्तेलले भनेका छन ‘बिपि राजमार्गको रोशि खण्डको पुनर्निर्माण सम्बन्धमा बिपद प्रतिरोधि संरचनाको डिजाइन गर्न, मापदण्ड विपरितका खानी सन्चालनमा तुरुन्त रोक लगाउन, सडक निर्माणमा गुणस्तरियता कायम गर्न गतिलो मनिटरिङ्ग गर्न सरकारमा बस्नेहरुले यि ३ कुरामा ध्यान देउ, बिपि राजमार्ग हालकै स्थान बाटै सम्भब छ । सक्छौ बिगतमा सुरु भएका जिल्लाका अरु बिभिन्न सडकको स्तरोन्नति गरि पक्कि बनाउ अन्यथा असक्षमता ढाक्न गैर जिम्मेवार अभिब्यक्ति बन्द गर ।’
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले भनेका छन्–‘ गम्भीर आपत्ति, बिपि राजमार्गको सयौं विकल्प खोज्नुस शुभकामना र साथ रहन्छ । तर लोकतान्त्रिक इतिहास बोकेको हालको बिपि राजमार्ग नै बन्द गरेर विकल्प खोज्नु किमार्थ स्वीकार छैन माननीय ज्यू ।’
तेमाल गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष हजार सिं लामाले भनेका छन्–‘विपी राजमार्गमा वैकल्पिक बाटो हुँदै जोड्नको निम्ति, अहिले क्षति भएको क्षेत्रको लागि वैकल्पिक मार्ग भनेको भकुण्डे–मेच्छे पौवा हुँदै नेपालथोक जोड्ने सडकलाई मानिएको छ ।
विपि राजमार्गको वैकल्पिक मार्ग खोज्ने होइन त्यसलाई सबैभन्दा छिटो र सुरक्षित बाटो रोज्ने नै हो भने सिन्धुली जोड्ने सडक २०१५ साल तिरै भारत सरकारको सहकार्यमा खुलेको रोशिको करीडोर, लास्कोट हुदै गिम्दीबेसी–तिनपिपले–काल्धर र भोज्र्याङबेसी बाटा नेपालथोक जोड्ने सडक नै सबै भन्दा छोटो दूरिको वैकल्पिक मार्ग बन्ने देखिन्छ १’ उनले आफ्नो मागलाई साथ दिन तेमालबासी र आम नागरिकहरुमा अनुरोध गरेका छन् ।
सांसद चौलागाईले उत्त क्षेत्रबाट जाने सडक बन्न नसक्ने भन्दै राजमार्ग नै परिवर्तन गर्ने अभिब्यक्ति दिएका थिए उनकै पार्टी रास्वपा भने यसमा मौन छ ।