इलाम : पूर्वी नेपालको पर्यटन, वातावरण संरक्षण तथा स्थानीय पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित इलाममा ‘केचना-कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट-२०८३’ आयोजना हुने भएको छ । आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा कार्यक्रम सञ्चालन हुने आयोजकले सोमबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी जानकारी गराएको छ।
सोमबार ‘केचना-कंचनजङ्गा रेस्पोन्सिबल टुरिजम मिट-२०८३’ को लोगो सार्वजनिक गरिएको छ । इलाम नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णुकुमारी लिम्बू (दहाल), प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कालगायतले लोगो साेवजनिक गरे ।
इलाम नगरपालिकाको नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम होटल व्यवसायी संघ इलामको प्रवर्द्धनमा सञ्चालन हुनेछ । कार्यक्रममा इलाम उद्योग वाणिज्य संघ, गाइड पोर्टर ड्राइभर क्लब तथा पर्यटन प्रवर्द्धन सरोकार समितिको सहआयोजना रहनेछ भने इलाम नगरपालिका र पर्यटन कार्यालय काकरभिट्टाले आर्थिक सहयोग गर्ने भएका छन् ।
आयोजककी अध्यक्ष सुशिला सापकोटाले केचना क्षेत्रदेखि कञ्चनजंघा क्षेत्रसम्म जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने रणनीतिक पहलका रूपमा कार्यक्रमलाईअघि बढाइएको बताइन् । कार्यक्रमले स्थानीय पर्यटन विकाससँगै क्रस बोर्डर टुरिजमलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको उनले बताइन् ।