सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ हुँगा खोलामा एक अपरिचीत पुरुषको शव फेला परेको छ । बिहीबार दिउँसो १२ः५० बजे प्रहरी चौकी पावैबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा खोलाको ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
गस्तीमा खटिएका प्रहरीका अनुसार शवको एउटा हात र एउटा खुट्टा मात्र खोला बाहिर निस्किरहेको अवस्थामा भेटिएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव जिल्ला अस्पताल फाप्लु ल्याइएको जनाएको छ ।
अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । मृतकको उचाइ करिब ५ फिट ८ इन्च रहेको तथा मंगोलियन वर्णको पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ । उक्त व्यक्तिको पहिचान खुलेमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर ९८५२८९०१९९ मा जानकारी दिन प्रहरीले अनुरोध समेत गरेको छ ।