काठमाडौँ । विपक्षी दलहरूले संसदमा सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आगामी दिनमा थप सशक्त रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन्। कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूको संयुक्त बैठकपछि यस्तो धारणा सार्वजनिक गरिएको हो।
बैठकपछि प्रतिक्रिया दिँदै ऐन महर ले सरकारले संसदलाई निरन्तर बेवास्ता गरिरहेको विषयमा गम्भीर छलफल भएको बताए। उनले विपक्षी दलहरूको आवाजलाई दबाएर अघि बढ्ने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरे।
उनले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै संसद सञ्चालन निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए। विपक्षीहरूको धारणा अनुसार सरकार संसदीय मूल्य–मान्यता विपरीत अघि बढ्न खोजेको भन्दै त्यसविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने समझदारी बनेको छ।
बैठकले संविधान कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि विपक्षी दलहरूबीच सहकार्यलाई निरन्तरता दिने साझा निष्कर्ष निकालेको बताइएको छ।
उक्त बैठकमा कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल तथा राप्रपाकी खुस्बु ओली सहभागी रहेका थिए।