काठमाडौं । बझाङको दुर्गम गाउँमा जन्मिएका डा. गणेश ऐडी आज नेपाली हेम्प, अल्लो र भाङ्ग्राका उत्पादनलाई विश्वका ७० भन्दा बढी देशसम्म पुर्याउने सफल उद्यमी बनेका छन्। सामान्य परिवारमा हुर्किएका उनले बाल्यकालमा अभाव, दुःख र संघर्ष मात्र देखेनन्, त्यही संघर्षभित्र अवसर पनि खोजे।
कक्षा ६ मा पढ्दाको एउटा घटना उनको जीवनको मोड बन्यो। गाउँबाट बोकेर ल्याएको भाङ्ग्राको झोला एक विदेशी पर्यटकले २५० युरोमा किनिदिएपछि गणेशले नेपाली रेसाजन्य उत्पादनको अन्तर्राष्ट्रिय मूल्य बुझ्ने अवसर पाए। त्यही क्षण उनले निर्णय गरे-“जीवनमा केही गर्छु भने यही क्षेत्रमा गर्छु।”
काठमाडौं आएपछि उनले अनेक दुःख भोगे। कहिले कारखानामा मजदुरी गरे, कहिले सस बनाए, कहिले कपडा बुने। धेरै प्रयास असफल भए, तर उनले हार मानेनन्। अन्ततः गाँजा, अल्लो र हेम्पबाट झोला तथा कपडा उत्पादन गर्ने उद्योग स्थापना गरे। आज उनका उद्योगमा सयौंले रोजगारी पाएका छन् भने करोडौंको कारोबार भइरहेको छ।
गणेश ऐडीको सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यो नेपालमै बसेर मेहनत, लगन र आत्मविश्वासका साथ काम गरे सम्भावनाको विशाल ढोका खुल्न सक्छ भन्ने सशक्त उदाहरण हो।
उनी भन्छन्, “नेपाल सम्भावनाले भरिएको देश हो। इच्छाशक्ति र निरन्तर मेहनत भयो भने यहाँ रोजगारी खोज्न होइन, रोजगारी सिर्जना गर्न सकिन्छ।”
गणेशको कथा आजका युवाका लागि एउटा स्पष्ट सन्देश हो । “सपना ठूलो हुनुपर्छ, सुरुवात सानो भए पनि सफलता सम्भव हुन्छ।”