२०८३, आश्विन १ गते

Sep 17 2026

तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति भर्नुपर्ने

तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति भर्नुपर्ने

रोज नेपाल
मंगलवार, जेठ १९ २०८३
रोज नेपाल
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । संसद्‍मा तोडफोड गरे तोडफोडमा संलग्न सांसदबाटै क्षतिपूर्ति भराइने भएको छ ।

    प्रतिनिधिसभा नियमावलीको नियम ३३ मा सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार हुने व्यवस्था छ ।

    नियम ३३ को उपनियम ४ मा भनिएको छ, ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानी नोक्सानी पुर्‍याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढीमा १५ दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ ।’

    तर सभामुखले यसरी कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्ने प्रावधान सँगै राखिएको छ ।

    विगतमा संसद्‍मा तोडफोडका घटना समेत भएका उदाहरण छन् । कुर्सी भाँच्ने लगायतका कार्य भएका उदाहरण छन् ।

    यस्तो घटना दोहोरिन नदिन नियमावलीमा कडाइ गर्ने प्रावधानहरू राखिएका छन् ।

    संसद् बैठकमा कुनै सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा वा गर्न लागेमा सभामुखले रोकिन आदेश दिनेछन् ।

    सांसदले सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पुर्‍याएमा सभामुखले निजलाई बैठक कक्षबाट तत्काल निष्काशन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछन् ।

    यसरी निष्काशित सदस्यलाई सभामुखले बढीमा १५ दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछन् ।

     ‘प्रतिनिधि सभा नियमावली २०८३’ सोमबारदेखि कार्यान्वयनमा आएको छ । आइतबार विपक्षी दलहरूको बेल घेराउबिच तनावपूर्ण अवस्थामा पारित नियमावली सोमबारदेखि कार्यान्वयनमा आएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij