२०८३, आश्विन १ गते

Sep 17 2026

पश्चिमी प्रणालीको प्रभावः पहाडमा वर्षा, तराईमा गर्मी र तातो लहरको चेतावनी

पश्चिमी प्रणालीको प्रभावः पहाडमा वर्षा, तराईमा गर्मी र तातो लहरको चेतावनी

शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । देशभर पश्चिमी न्यून चापीय प्रणाली (ट्रफ) र स्थानीय वायुको प्रभाव कायम रहँदा विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षा भइरहेको जनाएको छ।

    हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

    यता, तराईका जिल्लामा तापक्रम बढ्ने क्रम जारी रहने देखिएको छ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम स्तरको तातो लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी बढ्न सक्ने संकेत गरिएको छ।

    आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहनेछ भने पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्को अनुमान छ।

    तापक्रम थप बढ्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीलगायत जिल्लाका बासिन्दालाई आगामी तीन दिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

    विभागले तातो लहरबाट जोगिन दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का र सुती कपडा लगाउन, बाहिर जाँदा छाता वा टोपी प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोलयुक्त पदार्थ सेवन गर्न सुझाव दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij