काठमाडौं । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक (नवीकरण) गर्ने समयसीमा पुनः विस्तार गरेको छ। विभिन्न तहबाट थप समयको माग आएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले अन्तिम पटकका लागि म्याद थप्ने निर्णय गरेको हो।
ललितपुरस्थित सानेपाको बी.पी. स्मृति भवनमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर सदस्यता अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढिरहेकाले बाँकी प्रक्रिया पूरा गर्न थप समय उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा सम्पन्न बैठकले अब क्रियाशील सदस्यता अद्यावधिक गर्ने अवधि २०८३ साल जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल द्वारा जारी विज्ञप्तिमा सदस्यता नवीकरणका लागि विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले अन्तिम पटक म्याद थपिएको उल्लेख गरिएको छ।
काँग्रेसले तोकिएको नयाँ समयसीमाभित्र सम्बन्धित सबै सदस्यलाई आफ्नो सदस्यता अद्यावधिक प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेको छ। पार्टीले यो नै अन्तिम समय विस्तार भएको स्पष्ट गर्दै थप म्याद नदिइने संकेत पनि गरेको छ।