नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार गएराति कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ग१०प २२८७ नम्बरको मोटरसाइकल अगाडि गुडिरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ को मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्का का अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।