काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित निवासमा शुक्रबार राति घरायसी विवादका क्रममा उनले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घरेलु विवादकै कारण घटना भएको आशंका गरिएको छ।
कुमार थापा विगतमा प्रो–रेस्लिङ खेलसँग आबद्ध थिए। पछिल्ला वर्षहरूमा भने उनी सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामले परिचित बनेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।