काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई अन्तिम म्यादका रूपमा कायम गरेको छ । समितिको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने निर्णय गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ ।
महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
समितिका अनुसार २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७५३ जनाले प्राप्त गरिसकेका छन् भने ९८ हजार १४३ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी प्रक्रिया अगाडि बढाएका छन् ।