काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
आजको बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको उक्त सम्झौतामाथि सामान्य छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैबीच, संघीय संसद्अन्तर्गत आज विभिन्न तीनवटा संसदीय समितिका बैठकसमेत बस्ने भएका छन्।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका बैठक आज बस्नेछन्।
समितिहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने कार्यसूची तय गरेका छन्।