काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली देखिएको छ। अन्य प्रदेशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा अहिले नै हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशका धेरैजसो स्थानमा बादल लागिरहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। कर्णालीको हिमाली क्षेत्रमा पनि वर्षा वा हिमपातको सम्भावना रहेको छ।
पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमतीको तराई र गण्डकीको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा समेत एक–दुई स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ।
भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेर्नसमेत आग्रह गरिएको छ।