२०८३, आश्विन १ गते

Sep 17 2026

सूर्योदय–सूर्यास्तको अनुपम दृश्यले आकर्षण बढाउँदै बेथानचोकको नारायणनाथ मन्दिर

सूर्योदय–सूर्यास्तको अनुपम दृश्यले आकर्षण बढाउँदै बेथानचोकको नारायणनाथ मन्दिर

मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काभ्रे । बेथानचोक गाउँपालिका–३ मा अवस्थित नारायणनाथ मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। रमणीय वातावरणमा रहेको यो मन्दिर समुद्री सतहबाट करिब ३ हजार मिटरभन्दा बढी उचाइमा अवस्थित रहेको स्थानीय बताउँछन्।

    मन्दिर परिसरबाट बिहान उदाउँदै गरेको सूर्य र साँझ अस्ताउँदै गरेको सूर्यको मनमोहक दृश्य अवलोकन गर्न सकिने भएकाले टाढाटाढाबाट पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। विशेषगरी सूर्योदय र सूर्यास्तको दृश्य नियाल्न आउने धेरै पर्यटक मन्दिर परिसरमै टेन्ट राखेर रात बिताउने गर्दछन्।

    IMG_20260609_114227.jpg

    राजधानी काठमाडौंबाट करिब ४०–४५ किलोमिटरको मोटर यात्रापछि पुग्न सकिने यस स्थानमा सवारी साधनबाट ओर्लिएपछि करिब आधा घण्टा पैदल यात्रा गर्नुपर्छ। छोटो पदयात्रासँगै प्राकृतिक दृश्यावलोकनको अवसर पाइने भएकाले यो क्षेत्र घुम्न रुचाउनेहरूका लागि आकर्षक गन्तव्य बनेको छ।

    स्थानीयवासी तथा पर्यटकहरूले भने यस क्षेत्रको पर्यटन विकासका लागि थप पूर्वाधार आवश्यक रहेको बताएका छन्। पर्यटकलाई लक्षित गर्दै सहज आवास, गुणस्तरीय खानपान, विश्रामस्थल तथा स्वागत–विदाइका सुविधाको व्यवस्था गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

    IMG_20260609_114201.jpg

    नारायणनाथ मन्दिरमा पर्यटकको चहलपहल बढ्नु गाउँपालिका, स्थानीय व्यवसायी तथा समुदायका लागि आर्थिक अवसरसमेत बन्न सक्ने भएकाले सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने स्थानीयको माग छ। उचित योजना र पूर्वाधार विकासमार्फत यस क्षेत्रलाई काभ्रेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij