काठमाडौं । नेपाली चलचित्र उद्योगका अनुभवी लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ। अमेरिकामा बस्दै आएका चापागाईँको उपचारका क्रममा बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।
चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय चापागाईँले नेपाली सिनेमा लेखन र निर्देशन दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। उनले निर्देशन तथा लेखन गरेका चर्चित चलचित्रहरूमा इज्जतदार, निखिल दाइ, एक नजर, दिदिभाइ र चट्टान लगायतका फिल्महरू रहेका छन्।
उनको निधनसँगै नेपाली चलचित्र क्षेत्रले एक अनुभवी सर्जक गुमाएको भन्दै विभिन्न कलाकार तथा चलचित्रकर्मीहरूले शोक व्यक्त गर्न थालेका छन्।