काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार र प्रधानमन्त्रीमाथि योजनाबद्ध रूपमा घेराबन्दी तथा आक्रमण भइरहेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहसँग सम्बन्धित शक्तिबाट आफू र प्रधानमन्त्री लक्षित आक्रमण भइरहेको बताएका हुन्।
अर्थमन्त्री वाग्लेका अनुसार उक्त समूहबारे सरकारले छानबिन अघि बढाइरहेको छ र केही दिनभित्र विषय अदालतसम्म पुग्ने तयारीमा रहेको छ। उनले यस्ता समूहबाट प्रभावित नहुन संसद्का सदस्यहरूलाई पनि आग्रह गरे।
“प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ,” उनले भने, “ठूला वित्तीय अपराधमा संलग्नहरूविरुद्ध कारबाही अघि बढेपछि उनीहरूसँग सम्बन्धित समूहबाट असन्तुष्टि देखिएको हो।”
उनले सरकार आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि दबाबमा नझुक्ने स्पष्ट पारेका छन्।